काठमाण्डौ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पर्यटकीयस्थल एवं गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा क्यूआर कोड सेवा तथा विच्याट पे सुरु गरेको छ। 

स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासका लागि प्रदान गर्ने आर्थिक सहयोग तथा मायादेवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अब क्यूआर कोडका माध्यमबाट भुक्तानी गर्न सक्नेछन्। 

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ कम्प्लेक्सलगायतमा क्यूआर कोड सेवा प्रदान गर्दै आएकोमा अन्य क्षेत्रहरु पहिचान गरि डिजिटल सेवा प्रदान गर्दै जाने उद्देश्यले लुम्बिनीमा उक्त सेवा सञ्चालनमा ल्याएको। 

उक्त सेवा सञ्चालन भएपछि मायादेवी मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्यूआर कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेषगरी चाइनिज पर्यटकले विच्याट पेका माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन्। 

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले हालैमात्र नेपाली कर्मसियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ।