काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्दै लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १८ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ । वितरणयोग्य मुनाफा र रिनेट अर्निङबाट उक्त लाभांश वितरणको क्षमता बनाएको हो । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले २८ करोड ५१ लाख रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो ।

अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ९६.७७ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकले ५८ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा २९ करोड ९६ लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ७८ करोड ४० लाख रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार आक्रामक रहेको देखाउँछ ।

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा ३४ करोड ५० लाख रुपैयाँले बढेर ७४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ३९ करोड ९५ लाख रुपैयाँ थियो ।

त्यस्तै अघिल्लो वर्ष २ अर्ब १७ करोड रुपैयाँ रिजर्बको आकार बढाएर बैंकले २ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ ।

बैंकले रिटेन अर्निङतर्फ १७२.५८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष १७ करोड ८१ लाख रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा ४८ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

बैंकले २४ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब १६ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले २२ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ९९ करोड ऋण प्रवाह गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी २६.६९ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.५७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.३४ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा १.७७ प्रतिशतले घटेको देखाएको छ ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १६.५६ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ८.६४ प्रतिशत र सीडी रेसियो ७७.६१ प्रतिशत रहेको छ ।

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ११.०२ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७४.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.३८ गुणा कायम भएको छ ।