काठमाण्डौ । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकले लाभांशमा संशोधन गरेको छ। राष्ट्र बैंकको निर्देशनपछि शुक्रबरा बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांशमा संशोधन गर्दै अब चुक्तापुँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९.५५ रुपैयाँको कुल १३.६८४२ प्रतिशतले हुन आउने ३९ करोड ७७ लाख २४ हजार ९१६.६३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।

संशोधित प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने ३७ करोड ७८ लाख ३८ हजार ९६१.४४ रुपैयाँबराबरको बोनस सेयर र ०.६८४२ प्रतिशतले हुन आउने १ करोड ९८ लाख ८५ हजार ९५५.१९ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

यसअघि गत कात्तिक ८ गते बैंक सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर र ३.७१२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो। यो हिसाबले बैंकले प्रस्ताव गरेको बोनस सेयर बढेको छ भने नगद लाभांश घटेको छ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।