काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले चैत अन्तिममा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका छन् । 

ढकालले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्। 

सो क्रममा उनले महासंघका आगामी अध्यक्ष शेखर गोल्छाको प्रशंसा गरेका छन् भने आफू वरिष्ठ उपाध्यक्ष निर्वाचित भइसकेपछि बन्ने टिमले १ र १ जोडेर दुई होइन, एक र एक जोडेर ११ बनाउने गरी काम गर्ने दाबी समेत गरे । 

‘महासंघको भावि अध्यक्षका रूपमा हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं। उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशील टीम बन्नेछ।’ ढकालले भनेका छन्–‘यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र  साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर ११ बनाउनेछौं।’

उनले एउटा निकायबाट फर्छ्यौट भएको विषयलाई वन, मालपोत लगायतका विभिन्न निकायबाट अहिले अल्झाउने परिपाटी रहेको र यस्तो झञ्झट हट्नुपर्नेमा जोड दिएका छन् ।  

उद्योगी व्यापारीसँग राज्यका निकायले जबरजस्ती कर नउठाइ पारदर्शी ढंगबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन्। ‘निजी क्षेत्रलाई करको बोझमा दबाउने अहिलेको जुन व्यवस्था छ त्यसलाई हटाउनुपर्नेछ। करमा रहेका  दुविधाका कारण भविष्यमा उद्योगी व्यवसायीहरु करको ठूलो भार पर्ने समेत गरेका छन। त्यस्ता दुविधा भएका कर कानुनहरुलाई सुधार गर्नुपर्नेछ।’ उनले सम्बोधनको क्रममा भनेका छन्–‘यी काम गर्न महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र डायनामिक बनाउनुपर्ने, महासंघले राज्यका निकायसँग पोलिसी डाइलगलाई अझै बढाउनुपर्ने, विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूला(ठूला मेगा इभेन्ट गर्नुपर्ने, उद्योगी व्यापारी साथीहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन विदेशमा एक्सपोजर भ्रमणहरु बढाउनुपर्ने छ।’

एउटा निकायबाट पार लागेको कर, सम्पत्तीको विषयलाई अनेक निकायबाट छानबिनको विषय बनाउने रोग देखिएको उल्लेख गर्दै यसको सही निदानको आवश्यकतामाथि उनले जोड दिएका छन् । सरकारले हालै लागू गरेको भिसीटिएस र अनिवार्य पानले साना तथा मझौला उद्यमीमा परेको समस्या समाधानमा समेत आफू क्रियाशील हुने उनले प्रतिबद्धता जनाए । 

‘सम्पत्तिमाथि निजी क्षेत्रको जुन हक छ, त्यसलाई अझ विश्वासिलो बनाउनुपर्नेछ। स्वेदेशी उद्योग र व्यापारको संरक्षण गरेर विदेशी लगानीलाई आकार्षित गर्नुपर्नेछ। त्यसका लागि उद्योग वाणिज्य महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रुपमा विकास गर्नुपर्ने अवस्था छ ।’ उनले थपे । 

महासंघमा निर्वाचित भएपछि बन्ने टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ पनि गर्ने उनले वचन दिए। 

‘तीन खम्बे अर्थ नीतिको प्रमुख खम्बाका रूपमा स्वीकारिएको यस क्षेत्रलाई सबैभन्दा सशक्त र सबल खम्बाको रूपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासनसहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन मैले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिबद्धता यसै मञ्चमार्फत व्यक्त गर्दछु ।’ उनले भने–‘महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न मेरो प्रयास रहनेछ। त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने प्रयास गर्नेछु।’ 

महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने समेत उनको प्रतिबद्धता छ ।  प्रदेश, जिल्ला नगर तथा  वस्तुगत उद्योग वाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने विषय आफ्नो प्राथमिकतामा पर्ने उनको भनाई छ । 

‘मुलुकको अर्थतन्त्रमा अहम भूमिका खेलिरहेको निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघलाई जति बलियो र सशक्त बनाउन सकियो त्यति नै देशको समग्र निजी क्षेत्रको मनोबल उँचो हुनेछ र यसबाट राज्य संयन्त्रले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने छ ।’ उनले भनेका छन्–‘यसका लागि म सबै व्यवसायी र राज्यको पुलका रुपमा बीचमा बसेर रचनात्मक भूमिका खेल्ने काममा लाग्नेछु । म हिजोका दिनमा तपाईँहरुसँगै थिएँ र आज पनि छु । भोलि पनि तपाईँहरुसँगै रहनेछु । महासंघको नेतृत्वमा हुँदा होस वा नहुँदा म तपाईंसँग सँधै साथमै रहन्छु।’

उनले अगाडि थपेका छन्–‘महासंघ र व्यवसायिक सञ्जालमार्फत उठ्दा बस्दा तपाईंहरु सबैले म कति सहज छु भन्ने बुझिसक्नु भएको छ। मेरो व्यक्तिगत व्यवहार र व्यवसायिक प्रकृतिले गर्दा म तपाईंबाट टाढा जान पनि सक्दिन। तपाईंलाई अप्ठ्यारो परेको दिन, तपाईंले खोजेको दिन सहजै उपलब्ध  हुनेछु। महाभारतमा कृष्णजीले अर्जुनलाई युद्ध जित्नेले आफ्ना सारथीलाई चिन्न सक्नुपर्छ भन्नु भएको थियो। मेरो यो अभियानका सारथी तपाईँ उद्योगी, व्यवसायी साथीहरु हुनुहुन्छ, यहाँ उपस्थित अग्रजहरु हुनुहुन्छ र मेरा सबैजना शुभचिन्तकहरु हुनुहुन्छ। मेरो अभियानका सारथीहरुको पहिचान मैले गरिसकेकोले म सफल हुनेमा ढुक्क पनि छु।’

को हुन् ढकाल ?
बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति छन् । उनी महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरिसकेका छन् । 

उनी आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुन् । 

कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स  एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ । 

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुन् ।

ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुन् । उनी हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत समेत हुन् ।