काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको सबैभन्दा आकर्षक पद वरिष्ठ उपाध्यक्षतर्फको ताजा मत परिणाम प्राप्त भएको छ । 

हाल एशोसिएटतर्फबाट वरिष्ठ उपाध्यक्षका लागि खसेको मतगणना सकिएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले ५२२ मतसहित अग्रता लिएका छन् । 

उनका प्रत्यासी किशोरकुमार प्रधानले ३७४ मत पाएका छन् । 

एशोसिएटतर्फ खसेको कुल ८९९ मतमध्ये २ मत बद्धर भएको थियो । यसतर्फको मतभार ३० प्रतिशत हो । 

यसरी एशोसिएटतर्फ चन्द्रप्रसाद ढकालले कुल खसेको मतको ५८.०६४ प्रतिशत मत पाएका छन् भने प्रधानले ४१.६० प्रतिशत मत पाएका छन् । ०.२२२ प्रतिशत मत बद्धर भएको छ । 

अब वस्तुगततर्फ र जिल्लातर्फको मतगणना बाँकी छ । वस्तुगततर्फको मतभार २० प्रतिशत हो भने जिल्लानगरतर्फको मतभार ५० प्रतिशत हो । 

यसअघि एशोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल प्यानलका रामचन्द्र संघाई विजयी भएका थिए । यस्तै, जिल्लानगरतर्फ प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगततर्फ पनि प्रधान प्यानलकै अञ्जन श्रेष्ठ विजयी भइसकेका छन्। 

जिल्लानगरबाट कार्यसमिति सदस्यमा प्रधान समूहका बहुसंख्यक उम्मेद्वार विजयी भएका छन् । वस्तुगततर्फ दुवै पक्षका बराबर सदस्य निर्वाचित भएका छन् ।