काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघ संस्थाबाट सम्मानित भएका छन् ।

ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यवसायिक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुगेका ढकाललाई सोही अवसरमा त्यहाँका स्थानीय संघ संस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन् ।

बागलुङ जिल्लाकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले एक कार्यक्रम आयोजनागरी स्वस्ती वाचनसहित सम्मान गरेको थियो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले विद्यालय समुदायसँग नजोडिँदा गुणस्तर र विद्यार्थीको शैक्षिक चरित्रमा असर परेको बताए । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । 

जिल्लाको गहनाका रूपमा रहेको विद्यामन्दिर माविका विद्यार्थीलाई भविष्यमा आउने हरेक चुनौतीसँग जुध्न सक्ने बनाउने र उनीहरूको शैक्षिक क्षमता बलियो बनाइदिने महान् कार्य शिक्षकहरूको हातमा रहेको धारणा राखे । यसका लागि गुणस्तरीय शिक्षामा जोड दिँदै त्यसलाई अझ प्रभावकारी बनाउने दायित्व विद्यालयको भएको ढकालले बताए ।