काठमाण्डौ । फेसबुकको सहकार्यमा वर्ल्डलिंकले ७ हजार ५ सय ठाउँमा फ्रि इन्टरनेट सेवा दिने भएको छ ।
 
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुकबीच नेपाली इन्टरनेट प्रयोगकर्तालाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने सहकार्य भएको छ ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुकको सहकार्यमा सहज, छिटो छरितोसँग इन्टरनेट चलाउनका लागि पब्लिक वाईफाई उपलब्ध गराउने सम्झौता भएको हो ।  

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले बिहीवार जुममार्फत पत्रकार सम्मेलन गरी फेसबुकसँग भएको सहकार्यको बारेमा जानकारी गराएको छ । सो पत्रकार सम्मेलनमा वर्ल्डलिंकले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत नेपालभरी सार्वजनिक वाईफाई सेवा उपलब्ध गराउने जानकारी गराए ।
 
पत्रकार सम्मेलनमा दुबै कम्पनीले सहकार्य गरेको घोषणा समेत गरेका छन् ।
 
एक्सप्रेस वाईफाई प्लेटफर्मअन्तरगत अहिले
वर्ल्डलिंकले देशभर उपलब्ध गराएको १० हजार भन्दा बढी सार्वजनिक फ्रि वाईफाईमध्ये ७ हजार ५ सय स्थानका वाईफाईका लागि सहकार्य गरेको वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवालले जानकारी गराए।
 
कार्यक्रममा अध्यक्ष अग्रवालले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई व्यवस्थापन गर्न सहयोग हुनेछ,’
 
आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताउँदै सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानून आएमा प्रयोगकर्तालाई अझै सहज उनको तर्क थियो ।
 
पत्रकारले गरेको एक प्रश्नको उत्तर दिदैं अध्यक्ष अग्रवालले भने, यूजर्ससँग रकम लिने छेनौं, यसमा विज्ञापनमार्फत आगामी दिनमा मनिटाईज गरिने छ ।
 
अध्यक्ष अग्रवालका अनुसार, एक्सप्रेस वाईफाई प्लेटफर्मले
वर्ल्डलिंकको सार्वजनिक वाइफाइ सेवा सुधार गरेर, दुरुस्त, भरपर्दाे र किफायती इन्टर्नेट सेवाको साथै सबैका लागि, सबै ठाउँमा, सधैं जोडिने हाम्रो दृष्टिकोणमा उच्च योगदान गर्ने विश्वास व्यक्त गरे ।
 
यस सहकार्यले देश भरीका अल्पसंख्यक, विपन्न वर्गलाई पनि इन्टरनेट सेवाको पहँुच नजिक पुर्याउने आशा व्यक्त गरे ।
 
पत्रकार सम्मेलनमा सहभागी भएका फेसबुकका तर्फबाट मोबाइल पार्टनरशिपका निर्देशक करण खाराले भने, “रोजगार, शिक्षा, स्वास्थ्यसेवा र थप पहुँच सुनिश्चित गर्न उच्च गुणस्तरीय इन्टरनेट पहुँच अत्यावश्यक तत्व हो । एक्सप्रेस वाईफाई प्लेटफर्मको साथ,
वर्ल्डलिंक नेपालमा आफ्नो वाइफाइ कभरेजलाई दिगो रुपमा विस्तार गर्न सक्षम छ । धेरै व्यक्तिलाई अनलाइनका लागि सक्षम पार्ने हाम्रो विश्वास छ । हामी वर्ल्डलिंकसँग निरन्तर साझेदारीको लागि तत्पर छौं।