काठमाण्डौ । नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एन्ड रिसर्च प्रालिले उत्पादन गरी प्रशारण भएको नेपालको आफ्नै सांगीतिक रियालिटी शो वाइवाइ नेपाल स्टारको पहिलो सिजनको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन्।

अन्तिम प्रतिस्पर्धामा एलिनासँगै ताप्लेजुङका लक्ष्मण लिम्बु, काठमाण्डौका सुरेश लामा तथा धरानका सन्देश बम्जन लामा पुगेका थिए। यी अन्तिम प्रतिस्पर्धाका चारैजनाले जनही रु ५–५ लाखका दरले नगद प्राप्त गरेका छन् भने वाइवाइ नेपाल स्टार बन्न सफल एलिनाले थप ३० लाखसहित रु ३५ लाख नगद जितेकी छन्।

अन्तिम प्रतिस्पर्धा यही माघ १७ गते बेलुकी सक्किएको थियो। नेपाल टेलिभजनबाट प्रत्यक्ष प्रशारण भएको यो ग्रान्ड फिनालेमा नेपाल सरकारका माननीय सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनको ३०० स्टुडियोमा भव्य समारोहका बीच कार्यक्रम भएको थियो। 

नेपाली गीतसंगीत नेपालको संस्कार, संस्कृतिलाई विश्वको कुना–कुनामा चिनाउने एक सशक्त माध्यम भएको र वाइवाइ नेपाल स्टारमा देशभरबाट हजारौँको संख्यामा अडिसनको समयदेखि यो अन्तिम प्रतिस्पर्धासम्मको अवधिमा रहने सम्पूर्ण सहभागीले देशको नाम राख्न सफल भएको मन्त्री गुरुङले बताए। नेपाल टेलिभिजन क्रमशः अत्याधुनिक कार्यक्रमहरु प्रविधिसँग घुलमेल गर्दै आम दर्शकसामु पस्कन पाउँदा अत्यन्त गौंरवान्वित भएको महशुस भएको नेपाल टेलिजिभनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले बताए। 

वाइवाइ नेपाल स्टारको अडिसन नेपालको ७ वटै प्रदेशमा भएको थियो। प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा वाइवाइ, वृज सिमेन्ट तथा सिद्धार्थ बैंक रहेको थियो। अन्य प्रायोजकहरुमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हरपल चामल तथा यति कार्पेट रहेका थिए। 

यो शो परिकल्पना कि एडभरटाइजिङ सर्भिस प्रालिका प्रबन्ध निर्देशक रविन्द्रकुमार रिजालले गरेका हुन्। उनले सुरुदेखि अन्त्यसम्म कार्यक्रमलाई सफल बनाउन कार्यक्रमका डाइरेक्टर रवि श्रेष्ठलगायत अन्य टिम एवं नेपाल टेलिभिजनसँग प्रत्यक्ष रुपमा संवाद गरेका थिए।