काठमाण्डौ । वाईवाई ग्लोकल टीन हीरो नेपाल–२०२१ (सातौँ संस्करण) का लागि आजबाट आवेदन  खुला गरिएको छ। 

गत वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा आउँदो सेप्टेम्बर १ मा हुने अनलाइन अवार्ड महोत्सब र सम्मेलनमार्फत घोषणा गरिनेछ। यस उपाधिका माध्यमबाट किशोरकिशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुआतका लागि थप ऊर्जा प्रदान हुने आयोजकको विश्वास छ। 

नेपालबाट २०१५ मा सुरु भई काठमाण्डौका किशोरकिशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोरकिशोरीको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो। हालसम्म नेपालका ६ किशोरकिशोरीलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ। 

ग्लोकल टिन हिरो इन्डिया र श्रीलंकाबाट एकएकजना सम्मनित भएका छन्। साथै २० अन्डर २० छनोट गरेर हालसम्म ९१ जनालाई सम्मानित गरिएको छ। 

ग्लोकल टिन हिरोलाई दक्षिण एसियली राष्ट्रबीच प्रचार गने लक्ष्य ग्लोकलले लिएको छ। 

सेप्टेम्बर १ मा ग्लोकल टिन हिरोे नेपाल अनलाइन आयोजना गरिने भएको छ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ।  

ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ। आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अनलाइन नै सञ्चालन हुनेछ।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैँमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नबिन आयाम बोकेका हुन्छन्। सानै उमेरमा पनि ठूलठूला सपना एवं नवीन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठूलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाइन्छ। समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यलगायत विविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोरकिशोरीले https://nepal.glocalteenhero.com मार्फत निःशुल्क आवेदन भर्न सक्नेछन्। 

पहिलो चरणमा कुल आवेदनहरुलाई अन्तर्वार्ता र दस्तावेज समीक्षाका आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिनेछ। त्यसपछि उनीहरुको कामको सुरुआत र प्रभावका आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ। अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दूरदर्शनको मापनका लागि अन्तर्वार्ता हुनेछ र २०२१ को विजेता घोषणा गरिने आयोजकले जनाएको छ। 

अन्तिम स्क्रिनिङ र साक्षात्कार अनलाइनमार्फत हुनेछ। निर्णायक टोलीमा  युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्ड स्टारकी मार्केटिङ, ब्रान्डिङ र व्यवसाय विकास निर्देशक विधुसी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष शौरभ ज्योति रहेका छन्। 

ग्लोकल प्रालिले शीर्षक साझेदारका रूपमा वाईवाईसँग साझेदारी गरेको छ। रणनीतिक साझेदारका रूपमा भारतीय दूतावास, युनेस्को र युरोपेली संघ, पहल साझेदारका रूपमा द सोल्टी होटेल, पार्टनरका रुपमा कोकाकोला, होन्डा, टोयोटा, पञ्चकन्या, डोल्मा, डिश होम, डब्ल्यूडब्ल्यूएफ नेपाल, द ब्रिटिस कलेज, आतिथ्य पार्टनर कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी, एयरलाइन्स पार्टनरमा टर्किस एयरलाइन्स, शिक्षा पार्टनरमा किङ्स कलेज, विद्या संस्कार र चेल्सी कलेज, पीआर पार्टनरमा भी–चित्र, टेलिभिजन पार्टनरमा योहो टेलिभिजन र समर्थकमा वर्ल्ड लिंक, ईसेवा, गेनेसे क्लाउड एकेडेमी, आइसेक, क्विक्स र भ्यू योर चोइस रहेका छन्।

ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन घोषणा

ग्लोकलले राष्ट्रिय विकासका जाधाहरु र संसारका विभिन्न मुद्दाहरुलाई बुझ्न किशोरकिशोरीका लागि यो एक मौकाका रुपमा ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन  आयोजना गर्न लागेको छ। यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किशोरकिशोरीको अनलाइन उपस्थिति रहनेछ। यस वर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण हुनेछ र देश तथा विदेशका किशोर किशोरिहरुको एकै मञ्चमा उपस्थित हुनेछन्। उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टाछुट्टै विषय उद्यमशीलता, सशक्तीकरण तथा सामाजिक दृष्टिकोणमा प्यानल छलफल गरिनेछ। उक्त कार्यक्रम पनि अनलाइन नै सञ्चालन गरिनेछ।