काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । बित्तीय विवरणमा खूद नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा घटेको देखिए पनि बैकिंग क्रियाकलाप(व्यवसाय)मा बृद्धि गरी हुने नाफामा चमात्कारिक सुधार आएका कारण अधिकांश सूचकमा अपत्यारिलो सुधार आएको हो । 

विभिन्न कम्पनीमा बैंकको स्वामित्वमा रहेको सेयर तथा अन्य सम्पत्ति बिक्रीमा गत वर्ष जोड दिएका कारण पहिलो त्रैमासमा १ अर्ब १६ करोड खूद मुनाफा कमाएको यो बैंकले यो त्रैमासमा गैरबैकिंग क्रियाकलापबाट खासै कमाउन सकेन । तथापि, बैंकको खूद नाफा ९७ करोड १३ लाख माथि पुुगेको छ । पहिलो त्रैमासमा सबैभन्दा धेरै खूद नाफा कमाउने बैंकको रुपमा नेपाल बैंक स्थापित भएको छ। 

यो अवधिमा बैंकको ब्याज खर्च बढे पनि त्यसको तुलनामा ब्याज आम्दानीमा राम्रो प्रगति गरेको छ । ३९ करोड २५ लाख रहेको ब्याज खर्च बढेर ६४ करोड २६ लाख पुुग्दा बैंकले १ अर्ब ५६ करोडमा सीमित ब्याज आम्दानीलाई बढाएर २ अर्ब ३ करोडको उचाईमा पुर्याएको छ । यही कारण बैंकको समीक्षा अवधिमा १ अर्ब ३९ करोड खूद ब्याज आम्दानी भयो । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब १७ करोडमा सीमित थियो । 

यो अवधिमा बैंकको अन्य संचालन आम्दानी घटेको छ भने विदेशी मुद्राको कारोबारबाट हुने आम्दानी १ करोड ८५ लाखबाट बढेर ४ करोड ८० लाख पुुगेको छ । 

कर्मचारी खर्च र अन्य संचालन खर्चमा अचाक्ली वृद्धि हुँदा समेत बैंकले समीक्षा अवधिमा ७२ करोड २८ लाख संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको संचालन मुनाफा ४७ करोड ९० लाख मात्र थियो । संचालन मुनाफामा बैंकले मारेको फड्को निकै लोभलाग्दो र सुखद देखिन्छ । 

अघिल्लो वर्ष १ अर्ब १८ करोड रहेको गैरसंचालन आम्दानी यो वर्ष घटेर ४७ करोडमा सीमित बन्न पुुगेको छ । गैरबैकिंग सम्पत्ति बिक्री गर्न नपाउँदा यस्तो अवस्था आएको हो । 

यो अवधिमा बैंकले संभावित जोखिम व्यवस्थापनका लागि २२ करोड ९९ लाख राखेको छ भने संभावित जोखिम व्यवस्थापनबाट २९ करोड २९ लाख राइट ब्याक गरेको छ । 

समीक्षा अवधिमा बैंकले ९२ अर्ब ७२ करोड निक्षेप संकलन गरी ७३ अर्ब ६९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ८६ अर्ब २२ करोड निक्षेप संकलन गरी ६६ अर्ब ३ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकको स्वास्थ्य जाँचका लागि सशक्त बन्नुपर्ने एक महत्वपूर्ण सूचक रिजर्ब कोषमा यो बैंकले छलांग मारेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५३ करोड रुपैयाँ रहेको कोषमा समीक्षा अवधिसम्म ४ अर्ब ७५ करोड ९३ लाख रुपैयाँ जम्मा भएको छ । 

सबै सूचकमा राम्रो सुधार भए पनि बैंकमा खराब कर्जा भने बढेको छ, यो चिन्ताको बिषय हो । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३.१० प्रतिशत रहेको यस्तो कर्जा बढेर ३.४२ प्रतिशत पुुगेको छ। 

१.८८ प्रतिशत रहेको कस्ट अफ फण्ड सामान्इ बढेर २.७७ प्रतिशत मात्र पुुगेको छ भने अघिल्लो वर्षको यही अवधिमा ७५.५३ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल यो वर्ष ३१.९० प्रतिशतमा झरेको छ । 

समीक्षा अवधिमा बैंकले बढेको चुक्तापूँजी अनुसार नाफा कमाउन नसक्दा प्रतिसेयर आम्दानीमा भने पहिरो व्यहोर्नुपरेको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी ७१ रुपैयाँ माथि रहेकोमा यो वर्ष घटेर ४८ रुपैयाँ ३२ पैसामा सीमित बन्न पुुगेको हो । यस्तै, यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५९.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.९७ गुणा कायम भएको छ ।