काठमाण्डौ । देशका २७ वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/७५ मा लाभांशको रुपमा ३८ अर्ब रुपैयाँ भन्दा केही बढी रकम बाँड्नसक्ने हैसियत बनाएका छन् । 

वाणिज्य बैंकहरुले समीक्षा अवधिमा ४८ अर्ब ८३ करोड रुपैयाँ खूद मुनाफा आर्जन गरेका छन् । यही तथ्यांकबाट उनीहरुको लाभांश क्षमता २८ अर्ब रुपैयाँ भन्दा केही बढी देखिएको हो । 

बैंकहरुले आर्थिक वर्ष २०७३/७४ को तुलनामा करिब १७ प्रतिशतले खूद नाफा बढाएका देखिएको छ । सो अवधिमा बैंकहरुले ४१ अर्ब ७६ करोड खूद नाफा आर्जन गरेका थिए ।

बैंकहरुले आर्जन गरेको खूद नाफाबाट २० प्रतिशत सञ्चित कोषमा जम्मा गर्नुपर्छ । यस्तै, १ प्रतिशत सामाजिक उत्तरदायीत्व बहनका लागि खर्च गर्नुपर्ने गरी विनियोजन गर्नुपर्ने हुन्छ भने बाँकी १ प्रतिशत अन्य सञ्चितीका लागि छुट्याउनुपर्ने हुन्छ । यसरी कुल खूद नाफाको २२ प्रतिशत सञ्चित गरेपछि बाँकी आउने रकम लाभांशको रुपमा बाँड्नसक्छन् । यो अनिवार्य प्रावधानबाहेक समेत बैंकहरुको अवस्था हेरेर अन्य रकम समेत सञ्चित हुने गर्छ । 

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा २० प्रतिशतको हाराहारीमा व्यवसाय बढाएका छन् । उनीहरुले निक्षेपमा १० र कर्जामा २२ प्रतिशतको हाराहारीमा प्रगति गरेका छन् । 

हामीले यहाँ २७ वाणिज्य बैंकहरुले आर्जन गरेको नाफाको अघिल्लो आर्थिक वर्षसँगको तुलनात्मक विश्लेषण समेत गरेका छौ । धेरै नाफा कमाउने हिसाबले बैंकहरुको सूचि पहिलो टेबलमा तयार गरिएको छ भने दोश्रो टेबलमा नाफामा प्रगतिको हिसाबले कुन बैंकको अवस्था कस्तो रह्यो भन्ने देखाउन खोजिएको छ । 

यी हुन् टप १० बैंक
धेरै नाफा कमाउने हिसाबले पहिलो नम्बरमा नवील बैंक देखिएको छ । यो बैंकले ४ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष समेत नवील नै धेरै नाफा कमाउने बैंकको स्थानमा थियो । यो वर्ष पनि गत वर्षकै स्थानमा रहँदै इन्भेष्टमेन्ट बैंक दोश्रो धेरै नाफा कमाउने बैंक बनेको छ । उसले ३ अर्ब ९६ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष ३ अर्ब १४ करोड खूद नाफा आर्जन गरेको थियो । 

तेश्रो स्थानमा कृषि विकास बैंक रहेको छ , यो बैंकले नेपाल बैंकले गत वर्ष लिएको स्थान ओगटेको हो । कृषि विकास बैंकले ३ अर्ब ६७ करोड खूद नाफा आर्जन गरेको हो । नेपाल बैंक पनि गत वर्षको भन्दा एक स्थान पछाडि पुगी चौथो स्थानमा सीमित बन्न पुगेको छ । नेपाल बैंकले यो वर्ष ३ अर्ब ३९ करोड खूद नाफा आर्जन गरेको हो । खूद नाफा आर्जनको हिसाबले गत वर्ष निकै पछाडि रहेको एभरेष्ट बैंक यो वर्ष ५ औं स्थानमा उक्लिएको छ । एभरेष्टले २ अर्ब ७८ करोड खूद नाफा आर्जन गरेको हो । 

गत वर्ष एभरेष्ट भन्दा अगाडि रहेका हिमालयन र सिद्धार्थ बैंक यसपटक पछाडि धकेलिएका छन् । हिमालयन बैंक २ अर्ब ४७ करोड नाफा कमाउँदै छैठौ र सिद्धार्थ बै.क २ अर्ब ४५ करोड नाफा कमाउँदै सातौ स्थानमा पुगेका छन् । 

यो वर्ष २ अर्ब १५ करोड नाफा कमाउँदै ग्लोबल आइएमई बैंक आठौ, २ अर्ब ७ करोड नाफा कमाउँदै स्ट्याण्डर्ड चार्टर्ड नवौ र १ अर्ब ९४ करोड नाफा आर्जन गर्दै प्राइम बैंक १० औं स्थानमा रहेका छन् । जनता र सिभिल बैंकले १ अर्ब भन्दा कम नाफा आर्जन गरेका छन् भने ३ बैंकले ३ अर्ब बढी, एक बैंकले ४ अर्ब बढी, ५ वटा बैंकले २ अर्ब बढी र बाँकी १६ बैंकले १ अर्ब भन्दा बढी खूद नाफा कमाएका छन् । बैंकहरुले आर्जन गरेको नाफाको आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ को तुलनात्मक अवस्था यस्तो छः

हामीले वाणिज्य बैंकहरुले कुन रफ्तारमा खूद नाफा बढाइरहेका छन् भन्ने बिषयलाई पनि हेरेका छौ । नाफामा प्रगतिको दरको कुरा गर्दा सिभिल बैंक सबैभन्दा माथि देखिएको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ८५.१९ प्रतिशतको प्रगति हासिल गरेको हो । कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको समेत नाफातर्फको प्रगति ७४.६७ प्रतिशत रहेको छ । जनता बैंक नेपाल ४७.६३ प्रतिशत प्रगति गर्दै यो सूचिमा तेश्रो स्थानमा छ। यस्तै, स्ट्याण्डर्ड चार्टर्डको नाफामा ४६ प्रतिशत, कृषि विकास बैंकको ४४.१२ प्रतिशत प्रगति देखिएको छ । नेपाल बंगलादेश बैंक, माछापुच्छे बैंक र प्रभू बैंकको नाफा भने घटेको छ । बैंकहरुले खूद नाफामा गरेको प्रगतिलाई टेबलमा हेर्नुहोस्: