काठमाण्डौ । कोभिड १९ को प्रभावका कारण थिलथिलो बनेका क्षेत्रहरु बिस्तारै खुलेसँगै वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा बढ्न थालेको छ । 

एक सातामा वाणिज्य बैंकहरुको कर्जा १६ अर्बले बढेको हो । 

यो अवधिमा २७ वाणिज्य बैंकहरुमा १९ अर्बले निक्षेप बढेको छ । 

नेपाल बैंकर्स एसोसिएसनकाअनुसार मंसिर ५ गतेसम्म वाणिज्य बैंकहरुमा ३६ खर्ब ५६ अर्ब निक्षेप संकलन भएकोमा मंसिर १२ गतेसम्म २७ वाणिज्य बैंकहरुमा ३६ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो ।

यसैगरी, मंसिर ५ गतेसम्म वाणिज्य बैंकहरुले कुल ३० खर्ब ५० अर्ब कर्जा प्रवाह गरेका थिए । मंसिर १२ गतेसम्म त्यो बढेर ३० खर्ब ६६ अर्ब पुगेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकहरुमा ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। त्यस्तै सो अवधिसम्म २९ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो।