काठमाण्डौ । वाणिज्य बैंकहरुको औसत आधार दर घटेको छ। 

नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार फागुन महिनाको वाणिज्य बैंकहरुको औसत आधार दर ६.८४ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.४५ प्रतिशत रहेको थियो। यो हिसाबले गत वर्षको तुलनामा औसत आधार दर २.६१ प्रतिशतले घटेको छ। बैंकले लिने औसत आधार दरले ब्याजदर कायम गर्ने हुँदा तत्काल ब्याजदर बढ्ने सम्भावना कम देखिएको छ। 

यसैगरी समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेपतर्फ भारित औसत ब्याजदर ४.७६ प्रतिशत र कर्जामा ८.७३ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरुको निक्षेपतर्फ भारित औसत ब्याजदर ६.७ प्रतिशत र कर्जातर्फ ११.८ प्रतिशत रहेको थियो। यो हिसाबले वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा दुवैतर्फको भारित औसत ब्याजदर निकै घटेको देखिन्छ। 

त्यसैगरी ९१ दिनको ट्रेजरी बिलको भारित औसत ब्याजदर पनि गत बर्षको तुलनामा घटेको देखिन्छ। गत वर्ष ३.९७ प्रतिशत रहेकोमा हाल फागुनमा २.०३ प्रतिशत रहेको छ।