काठमाण्डौ । वाणिज्य बैंकहरुले चैत महिनाको अन्तिम ४ दिनमै ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले चैत २८ गतेदेखि चैत ३१ गतेसम्म ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्। योसँगै बैंकहरुको कुल निक्षेप ३९ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। गत चैत २७ गतेसम्म बैंकहरुको कुल निक्षेप ३९ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो। 

एनबीएकै तथ्यांकअनुसार चैतको अन्तिम ४ दिनमा वाणिज्य बैंकहरुबाट कुल ३८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। चैत २८ गतेदेखि चैत ३१ सम्म बैंकहरुले ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्। योसँगै बैंकहरुको कर्जा लगानी ३५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।

गत चैत २७ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३५ खर्ब ३५ अर्ब रुपैयाँ रहेको थियो। 

चैत महिनाभरि भने वाणिज्य बैंकहरुले १ खर्ब १८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।