काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार पछिल्लो एक साता (भदौ ११ गतेदेखि भदौ १७ गतेसम्म)को अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अबै रुपैयाँले बढेको हो। योसँगै भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। 

गत भदौ १० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो। 

यसैगरी यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेको छ। गत भदौ १० गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा भदौ १७ गतेसम्म बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। 

निक्षेप बढेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियोमा पनि सुधार आएको छ। गत भदौ १० गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.४२ प्रतिशत रहेकोमा भदौ १७ गतेसम्म घटेर ८८.२५ प्रतिशतमा झरेको छ।