काठमाण्डौ । वाणिज्य बैंकहरुले माघ महिनामा ब्याजदर घटाउने सम्भावना रहेको छ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज साँझा बैठक बस्दैछ। सोही बैठकले निक्षेपको ब्याजदर घटाउन सक्ने सम्भावना रहेको हो। 

एक वाणिज्य बैंकका सीईओले पनि ब्याजदर घट्न सक्ने बताएका छन्। ‘अहिले तरलता केही सहज भएको छ, सबैले ब्याजदर घट्ने अपेक्षा पनि गरेका छन्’, ती सीईओले भने, ‘त्यसैले ब्याजदर केही घट्ने सम्भावना छ। आजको बैठकले ब्याजदर घटाउने निर्णय गर्न सक्छ।’

स्रोतका अनुसार ब्याजदर घटाउने एनबीएले निर्णय गरेमा ब्याजदर १० प्रतिशतले घट्न सक्छ। यो हिसाबले ब्याजदर घटेमा माघमा व्यक्तिगत मुद्दति निक्षेपको १०.९२ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ९.१२ प्रतिशत र रेमिट्यान्समा ११.८२ प्रतिशत कायम हुन सक्छ।

वाणिज्य बैंकहरुले पुसमा पनि ब्याजदर स्थिर राख्नेका छन्। पुसमा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १.१३३ प्रतिशत ब्याजदर कायम गरेका छन्। 

यसअघि गत असोजमा ६ महिनादेखिको भद्र सहमति भंग गर्दै बैंकहरुले औसतमा १० प्रतिशतले ब्याजदर बढाएका थिए। असोजमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १.१३३ प्रतिशत ब्याजदर कायम गरेका थिए। केही बैंकहरुले भने रेमिट्यान्समा १५ प्रतिशतसम्म ब्याजदर दिएका थिए।

ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको र लागतमात्रै बढेकोले बैंकहरुले कात्तिक महिनामा भने ब्याजदर स्थिर राख्ने निर्णय गरेका थिए। सोही ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिँदै अब पुसमा सोही ब्याजदरलाई कायम राख्ने निर्णयमा बैंकरहरु पुगेका थिए। 

मंसिरमा विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाएका थिए।