काठमाण्डौ । वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्ने सम्भावना प्रबल देखिएको छ। 

फागुनको ब्याजदर निर्धारण गर्न वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले भोलि बिहीबार बिहान ९ः३० बजे बैठक बोलाएको छ। बैठकमा कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनेछन्। 

बैठकले फागुनको ब्याजदर निर्धारण गर्ने एनबीएका एक अधिकारी बताउँछन्। ‘अहिलेको अवस्थामा निक्षेपको ब्याजदर घटाइरहनु नपर्ने बैंकहरुबीच अनौपचारिक सहमति बनेको छ’, ती अधिकारीले भने, ‘त्यसैले माघकै ब्याजदरले फागुनमा निरन्तरता पाउने सम्भावना प्रबल छ।’

स्रोतका अनुसार राष्ट्र बैंक ब्याजदर थप नघटोस् भन्ने पक्षमा छ। ‘ब्याजदर घट्यो भने बैंकमा कर्जाको ब्याजदर पनि घटाउँछ र ब्याजदर कम भयो भने ऋण बढी जान्छ भन्ने राष्ट्र बैंकको कुरा छ’, स्रोतले भन्यो, ‘एकातिर खराब कर्जा बढिरहेको छ, यो अवस्थामा बैंकहरुले ऋणमा बढी जोड नदिऊन् भन्ने पक्षमा राष्ट्र बैंक रहेको छ किनकि यसले अझै खराब कर्जा बढाउँछ भन्नेमा राष्ट्र बैंकको चिन्ता छ।’

यिनै कारणले राष्ट्र बैंकले ब्याजदर थप नघटोस् भन्ने पक्षमा रहेको स्रोत बताउँछन्। ‘राष्ट्र बैंकको यही चाहनाअनुसार नै बैंकहरुले ब्याजदर स्थिर राख्ने सहमति गर्न सक्छन्’, स्रोतले भन्यो। 

एनबीएले यो माघ महिनामा व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई ९.३३८ प्रतिशतले घटाउने निर्णय गरेको थियो। जसअनुसार व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ।

अब भोलि एनबीएले ब्याजदर स्थिर राख्ने निर्णय गरेमा माघकै ब्याजदरले फागुनमा निरन्तरता पाउनेछ।