काठमाण्डौ। अब आन्तरिक उडानमा वायुसेवा कम्पनीहरुले आफूलाई आवश्यक संख्यामा उडान माग गर्न सक्ने भएका छन्।

सरकारले आन्तरिक गन्तव्यका लागि उडान संख्याको सीमा हटाएसँगै वायुसेवा कम्पनीहरुले आफूलाई आवश्यक संख्यामा उडान माग गर्न पाउने भएका हुन्। 

देशभर बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भएको भन्दै वायुसेवा कम्पनीहरुले उडान संख्या थप हुनुपर्ने माग गर्दै आएका थिए। सोही मागलाई सम्बोधन गर्दै सरकारले यसअघिको ५० प्रतिशत भनी तोकिएको आन्तरिक उडानको सीमा हटाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यसबारे हिजै सबै वायुसेवा कम्पनीहरुलाई जानकारी गराइएको पनि प्राविकरणको भनाइ छ। 

वायु सेवा कम्पनीहरुले सरकारले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड भने पालना गर्नुपर्नेछ। कोरोना महामारीको दोस्रो लहरका कारण ठप्प रहेको आन्तरिक उडान गत जुलाई १ बाट खोलिएको थियो।