काठमाण्डौ । नेपाल वायुसेवा निगमले ३ वटा जहाज किन्न ७ सदस्यीय उपसमिति गठन गरेको छ। 

दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरिद गर्ने कार्ययोजना अघि वढाउन निगम व्यवस्थापनको उपसमिति गठन गरेर प्रक्रिया सुरु भएको हो। दुर्गम क्षेत्रका आमजनताको ठूलो मागलाई सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउने निगमको योजना छ।

जहाज खरिद कार्य सम्पन्न गर्नका लागि निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको हो। उपसमितिले कार्यसमेत सुरु गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। 

निगमले यथासक्य छिटो जहाजहरु निगमको आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको जनाएको छ। ‘निगमले नयाँ ३ वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिनेछ’, प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

जहाज खरिदपछि पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडादर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास निगमको छ। यसबाट राष्ट्रि«य र सामाजिक उत्तरदायित्व समेत निर्वाह हुने निगमको विश्वास छ।