काठमाण्डौ । कोरोना महामारीपछि चीन अहिले खाद्यसंकटको चपेटामा परेको छ। खाद्यसंकटसँग जुझ्न चीनले नयाँ अभियान नै चलाएको थियो। त्यो हो, ‘अपरेसन एम्प्टी प्लेट’।

यो अभियानको मुख्य उद्देश्य भनेको मानिसहरु रातको समयमा कम भोजन खाऊन् र खाना बर्बाद हुनबाट जोगाउने विषयमा जागरुक होऊन्। यसका साथै चीन सरकारले एउटा नयाँ नीति पनि लागू गरेको छ। यो नीतिअन्तर्गत खाना बर्बाद गर्ने मानिस, होटल तथा रेस्टुराँमाथि जरिवाना लगाइनेछ। 

चीनका राष्ट्रपति सी जिनपिङले यो अभियानको सुरुआत गर्दै यो अपरेसनको मुख्य उद्देश्य भनेको मानिसहरुलाई जति आवश्यक छ त्यति नै खाना खानलाई प्रेरित गर्नु नै रहेको बताएका छन्। त्यसो त खाना बर्बाद गर्नेमा चीन सबैभन्दा अग्रस्थानमा छ। केही सामाजिक सञ्जालहरुमा यस्ता भिडियोहरु पनि भाइरल भएका छन्, जसमा एकजना मानिसले एकसाथ १० वटासम्म बर्गर र पिज्जा खाइरहेको देखाइएको छ। 

चीनमा एकैपटक अत्याधिक खाना खाने प्रतियोगिताहरु निकै लोकप्रिय पनि छन्। त्यहाँ धेरै जसो मानिसहरु यस किसिमका प्रतियोगिताहरुमा भाग लिएर धेरै खाना खाएको तस्बिर र भिडियो सार्वजनिक भइरहेका हुन्छन्। अब चीनले नयाँ नीति सार्वजनिक गर्दै यस किसिमको प्रतियोगिताहरुमा रोक लगाएको छ।

अपरेसन एम्प्टी प्लेटबमोजिम अब चीनमा धेरै खाना खाएर अर्थात आवश्यकताभन्दा बढी भोजन गर्नु गैरकानुनी हुनेछ। त्यहाँ आवश्यकताभन्दा बढी भोजन गर्नेलाई डेढ लाख रुपैयाँ बढी जरिवाना लगाइनेछ। यदि होटेल तथा रेस्टुराँहरुले खाना बर्बाद गरेमा उनीहरुलाई यो नीतिअन्तर्गत कडा कारबाही हुनेछ। 

यसैगरी चीनले यो नीतिअन्तर्गत एकैपटक धेरै खाना खाएको फोटो वा भिडियो तथा त्यस किसिमका प्रयोगिताहरुको भिडियो सेयर गर्ने सेलिब्रेटी वा टीभी च्यानललाई पनि कारबाही गर्ने भएको छ। 

यो नीति कार्यान्वयनमा ल्याउनुको मुख्य उद्देश्य भनेकै खाना बर्बाद हुनबाट जोगाउनु हो। चीन अहिले खाद्यसंकटको सामना गरिरहेको छ। चीनमा हरेक वर्ष साढे ३ करोड टन खाना बर्बाद हुन्छ। त्यहाँको कुल खाद्य उत्पादनको ६ प्रतिशत हिस्सा बर्बाद हुन्छ। त्यहाँ हरेक वर्ष १.८० करोड टन खाना फ्याँक्ने गरिन्छ। 

चीनको कृषि मन्त्रालयका अनुसार सन् २०१९ मा चीनमा कुल ६६ करोड टन खाद्यान्न उत्पादन भएको थियो। त्यस्तै २०१९ मा चीनले भारतबाट ९ करोड किलोग्राम चामल आयात गरेको थियो। यो बितेको ३० वर्षमा पहिलोपटक यति धेरै चामल भारतबाट आयात गरेको हो। – एजेन्सी