– अर्जुन तिमिल्सिना

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स नेप्सेको जीवन बीमा समूहमा सूचीकृतमध्ये एउटा कम्पनी हो। एसियन लाइफ लगानीकर्ताको रोजाइमा पर्न सफलमध्ये एक कम्पनी हो। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार यो कम्पनीको चुक्तापुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। जगेडा कोषको आकार ४२ करोड ८१ लाख रुपैयाँको रहेको छ। जगेडा कोषको आकार अघिल्लो वर्षको यही अवधिको तुलनामा ३० करोड रुपैयाँले घटेको छ। 

जीवन बीमा कोषमा ३० अर्ब ९८ करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.६६ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस १७.५१ रुपैयाँ थियो। 

कम्पनीको प्रतिसेयर नेटवर्थमा पनि गिरावट आएको छ। हाल कम्पनीको नेटवर्थ २१२.५७ रुपैयाँ छ। गत वर्ष यही अवधिमा नेटवर्थ १३९.८८ रुपैयाँ थियो। 

तेस्रो त्रैमासमा कम्पनीले १८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

कम्पनीको ७ वर्षको औसत लाभांश दर १७ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६÷७७ मा कम्पनीले २५ प्रतिशन बोनस र २ प्रतिशत नगद लाभांश वितरण दिएको थियो। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो  मानिन्छ भने यो वेभले लाखौँ लगानिकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासगरी बजारमा सेयरको मूल्य लगानीकार्तको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ।

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

यस कम्पनीको इलिअट वेभअन्तर्गत हेर्दा इन्टरमिडियट डिग्रीमा ‘ए’, ‘बी’ र ‘सी’ बनाउँदै एउटा चक्र लगभग ४८५ रुपैयाँमा अन्त्य भएको देखिन्छ। अब बनाउने नयाँ डिग्रमा पुनः यो कम्पनीको सेयरमूल्यले अबको दुई वर्षको समयावधि लगाएर वेभ (१) मा ६३० रुपैयाँ, वेभ (२) मा करेक्सन हुँदै ५६० रुपैयाँ, वेभ (३) मा पुनः बढोत्तरीका साथ ९९९ रुपैयाँ र वेभ (४) मा करेक्सनका साथ ८४८ रुपैयाँ र (५) मा लगभग ११०० रुपैयाँ सम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

यो कम्पनीको दैनिक चार्टमा मूल्यरेखाले बोलिंगर ब्यान्डअन्तर्गत आज मध्य ब्यान्डलाई छोएर माथि लगेको छ।  

त्यसैगरी म्याक्डीमा पनि गत ६ जुनमा नै बुलिस क्रसओभर बनेको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा बनेका कारण बजारमा कम्पनीको सेयरमूल्य बढ्दो गतिमा देखिन्छ। (हेर्नुहोस् कालो एरो) 

आरएसआई न्यून विन्दु २३ बाट फर्केर बढ्दो गतिमा ४४ को मध्य विन्दुमा रहेको छ। यसले यो कम्पनीको सेयर अप ट्रेन्डमा रहेको बुझिन्छ।

पिभट विश्लेषण

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी कम्पनीको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध

प्रतिरोध १– ५४१
प्रतिरोध २– ५७४
प्रतिरोध ३– ६०२

पिभट प्वइन्ट– ५१२

घटेमा सपोर्ट

सपोर्ट १–  ४७९
सपोर्ट २– ४५०
सपोर्ट ३– ४१७

निष्कर्ष 

यो कम्पनीको सेयरमूल्य १ वष पहिले १२०० रुपैयाँमाथि पुगेको देखिन्छ। त्यसपछि निरनतर घटेको सेयरमूल्य न्यून विन्दु ४८८ रुपैयाँसम्म आएको देखिन्छ। कम्पनीको चार्टलाई इलिअट वेभमार्फत केलाउँदा हाल वेभ ‘सी’ सकिएको देखिन्छ। 

पिभट विश्लेषणमार्फत हेर्दा कम्पनीको सेयरभाउ पिभट प्वइन्टभन्दा माथि रहेको देखिन्छ। म्याक्डीमा बुलिस क्रसओभर, आरएसआई बढ्दो गतिमा र बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा कम्पनीको प्रतिरोध लिएको देखिन्छ। आगामी कारोबारमा यो कम्पनीको हाल ५५० रुपैयाँमा रहेको सेयरभाउ यदि ५७५ रुपैयाँभन्दा माथि गएमा कम्पनीको सेयरमूल्यले अप ट्रेनड र ५२७ रुपैयाँभन्दा तल गएमा डाउन ट्रेन्ड लिन सक्ने बुझिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका भने होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।