काठमाण्डौ । नेपाल टेलिकमले सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखा जिल्लाको बेदिङ्गमा बिटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ । 

बेदिङ्ग दोलखा जिल्लाको सबैभन्दा विकट मानिएको गौरीशंकर गाँउपालिकाअन्तर्गत रहेको छ । यो स्थान बहुचर्चित च्छोरोल्पा हिमताल निकट गौरीशंकर हिमालको फेदीमा रहेको छ र यहाँ शेर्पाहरुको बस्ती छ । पर्यटकीय आकर्षणको केन्द्र भएता पनि उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।  

यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका करिब ८४ घरधुरीका करिब पाँचसय बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । अब यस क्षेत्रका उपभोक्ताहरुले पनि जिएसएम मोवाइलमार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । बेदिङ्गको च्छोरोल्पा हिमताल सदरमुकाम चरिकोटबाट लगभग ६५ किलोमिटर सडक मार्ग र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ । 

सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ । स्थानीय बासिन्दाहरुले अब त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् । 

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा बिस्तार गरेको हो । प्रतिफल कम आउने र  तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा बिस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।