– रेखा चन्द

काठमाण्डौ । विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि भदौ महिनामा ब्याजदर नबढाउने भएका छन्। 

ब्याजदर बढाउँदा पनि निक्षेप नबढ्ने अवस्था हुँदा विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि साउनकै ब्याजदरलाई भदौमा निरन्तरता दिने भएका हुन्।

साउनको ब्याजदरलाई निरन्तरता दिने निर्णय भएको डेभलपमेन्ट बैंकर्स एसोसिएनका अध्यक्ष प्रद्युम्न पोखरेल बताउँछन्। ‘हामीले पनि भदौमा ब्याज नबढाउने निर्णय गरेका छौँ’, उनले भने।

संस्थागतर्फ मुद्दति निक्षेपको ब्याजदर भने  राष्ट्र बैंकले नियमअनुसार घटाएर नयाँ ब्याजदर प्रकाशित गर्ने पोखरेलले जानकारी दिए। 

फाइनान्स कम्पनीहरुको छाता संगठन वित्तीय संस्था संघले पनि भदौका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गर्ने प्रबल सम्भावना रहेका एक फाइनान्सका सीईओले बताए। ‘निर्णय गर्न हाम्रो संघको बैंठक भोलि बस्दैछ’, उनले भने, ‘वाणिज्य बैंक र विकास बैंकले ब्याजदर नबढाउने निर्णय गरिसकेका छन्। सम्भवतः फाइनान्सहरुको पनि ब्याजदर बढ्दैन।’

फाइनान्स कम्पनीहरुले संस्थागत मुुद्दति निक्षेपको ब्याजदर १ प्रतिशतले घटाउने लगभग पक्का भएको छ। 

यसअघि आज बिहान बसेको नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को बैठकले भदौमा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने निर्णय गरेको थियो।

अब वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले साधारण बचत तथा व्यक्तिगत मुद्दति निक्षेपमा साउनकै ब्याजदरलाई निरन्तरता दिँदै संस्थागत मु्द्दति निक्षेपको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गर्नेछन्।