काठमाण्डौ । वाणिज्य बैंकहरुबीच ब्याजदर घटाउने विषयमा सहमति भएसँगै विकास बैंकहरुको ब्याजदर कसरी समायोजन हुन्छ भन्ने विषयमा समेत चासो बढेको छ । 

वाणिज्य बैंकहरुले ब्याजदर घटाएपछि वा बढाएपछि सोहीअनुसार निर्णय गर्दै आएका विकास बैंकहरुले हालसम्म ब्याजदर घटाएर कतिसम्म कायम गर्ने भन्ने बिषयमा कुनै निर्णय गरिसकेका छैनन् । तर, अनौपचारिक रुपमा त्यस्ता बैंकहरुबीच ब्याजदर घटाउने विषयमा सहमति बनिसकेको छ । 

एक राष्ट्रियस्तरको विकास बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठक यो साताभित्र बसेर ब्याज घटाउने विषयमा आवश्यक निर्णय लिइनेछ । 

‘वाणिज्य बैंकहरुले बैशाख १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरिसकेका छन् । हामीले पनि सोही मितिदेखि ब्याजदर घटाएर प्रकाशित गर्नुपर्ने हुन्छ ।’ ती सीइओले भने–‘हामीबीच पनि एकखालको सहमति त भइसकेको छ, त्यसलाई औपचारिकता दिन मात्र बाँकी छ ।’ 

ती सीइओको अनुसार वाणिज्य बैंकहरुले कायम गरेको ब्याजदरभन्दा विकास बैंकले १ प्रतिशत बढाएर ब्याजदर कायम गर्नेछन् । 

वाणिज्य बैंकहरुबीच साधारण बचतको ब्याजदर बढीमा ५.५ प्रतिशतसम्म दिनसक्ने सहमति भएको छ । व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर अधिकतम ८.२५ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ७ प्रतिशतसम्म दिनसक्ने सहमति समेत भएको छ । 

यसको अर्थ विकास बैंकहरुले बचतको ब्याजदर बढीमा ६.५ प्रतिशत, व्यक्तित मुद्धती निक्षेपको ब्याजदर अधिकतम ९.२५ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ८ प्रतिशत कायम गर्न सक्नेछन् । 

यसअघि विकास बैंकहरुबीच बचतमा अधिकतम ७ प्रतिशत र मुद्धतिमा १० प्रतिशत ब्याज कायम गर्ने भद्र सहमति भएको थियो । वाणिज्य बैंकहरुबीच ब्याजदरको भद्र सहमति कायम भएलगत्तै विकास बैंकहरुले पनि १५ महिनाअघि यस्तो सहमति कायम गरेका थिए । 

अब वाणिज्य बैंकहरुले पनि नयाँ परिस्थिति अनुसार ब्याजदर घटाएपछि विकास बैंकहरुले पनि घटाउने भएका हुन् ।