काठमाण्डौ । कोरोना कहरबीच चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अधिकांश सूचकमा मुक्तिनाथ विकास बैंक अब्बल देखिएको छ।

कुल १७ वटा विकास बैंकहरुमध्ये मुक्तिनाथले नाफा, वितरणयोग्य मुनाफा, चुक्तापुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, खुद ब्याज आम्दानीजस्ता सूचकहरुमा अब्बल देखिएको हो। समीक्षा अवधिमा यो बैंक खुद नाफा २९ करोड ४१ लाख रुपैयाँ बढी आर्जन गरेको छ। यो नाफा अन्य विकास बैंकको तुलनामा सबैभन्दा बढी हो। 

खुद नाफा बढी आर्जन गर्नेमा कामना सेवा विकास बैंक दोस्रो स्थानमा छ। यो बैंकले २० करोड १ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। 

यस्तै तेस्रो बढी नाफा महालक्ष्मी विकास बैंकले आर्जन गरेको छ। यो बैंक नाफा १५ करोड ९७ लाख रुपैयाँ रहेको छ।

यसैगरी वितरणयोग्य मुनाफा पनि मुक्तिनाथको बढी रहेको छ। यो बैंकको वितरणयोग्य मुनाफा १५ करोड २१ लाख रुपैयाँ रहेको छ। 

कामना सेवाको वितरणयोग्य मुनाफा ७ करोड ४३ लाख रुपैयाँ र ज्योति विकास बैंकको मुनाफा ४ करोड ३५ लाख रुपैयाँ रहेको छ। 

चुक्तापुँजीको हिसाबले पनि मुक्तिनाथ नै अग्रस्थानमा छ। यो बैंकको चुक्तापुँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। चुक्तापुँजी ३ अर्ब ४९ करोड रुपैयाँका साथ ज्योति विकास बैंक दोस्रो र ३ अर्ब २३ करोड रुपैयाँका साथ गरिमा तेस्रो स्थानमा छन्।

रिजर्भको आकारको हिसाबले १ अर्ब ९१ करोड रुपैयाँका साथ महालक्ष्मी अग्रस्थानमा छ। मुक्तिनाथ १ अर्ब ७६ करोड रुपैयाँ रिजर्भका साथ दोस्रो स्थानमा र १ अर्ब  ६५ करोड रुपैयाँको रिजर्भका साथ तेस्रो स्थानमा छन्। 

निक्षेप संकलन र कर्जा प्रवाहमा पनि मुक्तिनाथ नै अब्बल देखिएको छ। यो बैंकले समीक्षा अवधिमा ६३ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ। उच्च निक्षेप संकलनमा गरिमा ४८ अर्ब ६२ करोडका साथ दोस्रो र ज्योति ४० अर्ब ४१ करोडका साथ तेस्रो स्थानमा छन्।

यो अवधिमा मुक्तिनाथले ५१ अर्ब ९९ करोड, गरिमा ३८ अर्ब ७६ करोड र ज्योतिले ३१ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

मुक्तिनाथले सबैभन्दा बढी ५९ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यस्तो आम्दानी महालक्ष्मीले ४२ करोड ५७ करोड र कामना सेवाले ३८ करोड १५ लाख रुपैयाँ गरेको छ।

वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) को हिसाबले कामना सेवा अगाडि देखिएको छ। यो बैंकको ईपीएस ३१.५१ रुपैयाँ रहेको छ। एक्सेलको ईपीएस २७.८३ रुपैयाँ रहेको छ भने मुक्तिनाथको २७.२१ रुपैयाँ रहेको छ।

प्रतिसेयर नेटवर्थमा भने १६२.२८ रुपैयाँले महालक्ष्मी अग्रस्थानमा छ। त्यसपछि लुम्बिनीको १६०.९८ रुपैयाँ र सहाराको १५५.४८ रुपैयाँ रहेको छ। 

निष्क्रिय कर्जा घटाउनेमा मुक्तिनाथ अग्रस्थानमा छ। यो बैंकको निष्क्रिय कर्जा दर ०.१२ प्रतिशतमा सीमित छ। त्यस्तै मितेरीको यस्तो दर ०.२२ र ज्योतिको ०.६५ प्रतिशत छ।