काठमाण्डौ । वाणिज्य बैंकहरुले पुस महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेसँगै विकास बैंकहरुले ब्याजदरमा फेरबदल नगर्ने सम्भावना प्रबल देखिएको छ। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को सोमबार बसेको बैठकले पुस महिनामा मंसिरकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको थियो। जसअनुसार कर्जा र निक्षेपको ब्याजदर पुसमा स्थिर नै राख्ने सहमति भएको छ। 

उता विकास बैंकहरुले पनि मंसिरकै ब्याजदर पुसमा निरन्तरता दिने सहमति हुन सक्ने देखिएको छ। ‘पुसमा वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन्’, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेलले बिजशालासँग भने, ‘विकास बैंकहरुले मंसिरमा ब्याजदर घटाइसकेकाले अब पुसमा भने स्थिर नै राख्ने निर्णय हुन सक्छ।’

पोखरेलका अनुसार ब्याजदरका विषयमा छलफल गर्न भोलि बुधबार डेभलपमेन्ट बैंकर्स एसोसिएसन बैठक बस्नेछ। ‘अब भोलिको बैठकमा ब्याजदरबारे निर्णय हुनेछ’, उनले भने। 

गत कात्तिकमा कायम अधिकतम ब्याजदरमा ०.१५ प्रतिशतले घटाएर विकास बैंकहरुले मंसिरको ब्याजदर निर्धारण गरेका थिए। जसअनुसार मंसिरमा राष्ट्रिस्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका छन्। 

यसैगरी मंसिरमा अधिकांश क्षेत्रीय र जिल्लास्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा अधिकतममा १३.१० प्रतिशतदेखि १३.३५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन्। कात्तिकमा क्षेत्रीय र जिल्लास्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतममा १३.२५ प्रतिशतदेखि १३.५० प्रतिशतसम्म ब्याज दिँदै आएका छन्।

विकास बैंकहरुले ब्याजदर स्थिर राख्ने निर्णय गरेमा अब पुसमा पनि मंसिरकै ब्याजदरले निरन्तरता पाउनेछ। 

नेपाल वित्त संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधारले भने फाइनान्स कम्पनीहरुले पुसमा ब्याजदर घटाउने सम्भावना रहेको बताएका छन्। ‘धेरैजसो फाइनान्स कम्पनी ब्याजदर घटाउने पक्षमा छन्’, उनले भने, ‘त्यसैले अब संघको बस्ने बैठकले ब्याजदर घटाउने निर्णय गर्ने सम्भावना प्रबल छ।’