काठमाण्डौ । विकास बैंकहरुले पनि माघदेखि ब्याजदर घटाउने भएका छन्। 

निर्णय कुरेर बसेका विकास बैंकहरुले वाणिज्य बैंकहरुले ब्याजदर घटाउने सहमति गरेसँगै भोलि बिहीबार बैठक बसेर आफ्नो निर्णय सार्वजनिक गर्ने भएका हुन्। 

विकास बैंकहरुको छाता संस्थान डेभलपर्स बैंकर्स एसोसिएसनका एक पदाधिकारीका अनुसार बिहीबार सदस्य बैंकहरुलाई बैठकका लागि बोलाइएको छ। सोही बैठकले वाणिज्य बैंकहरुको निर्णयमा टेकेर ब्याजदर घटाउने निर्णय गर्नेछ। 

वाणिज्य बैंकहरुले ब्याजदर पुसको तुलनामा ९.३३८ प्रतिशतले घटाउने बुधबार साँझ निर्णय गरेका थिए। यसलाई आधार मान्दा पनि विकास बैंकहरुले समेत कम्तीमा सोही अनुपातमा ब्याजदर घटाउने अपेक्षा गर्न सकिन्छ। 

राष्ट्रिस्तरका विकास बैंकहरुले पुसमा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका छन्।

यसैगरी पुसमा अधिकांश क्षेत्रीय र जिल्लास्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा अधिकतममा १३.१० प्रतिशतदेखि १३.३५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन्। कात्तिकमा क्षेत्रीय र जिल्लास्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतममा १३.२५ प्रतिशतदेखि १३.५० प्रतिशतसम्म ब्याज दिँदै आएका छन्।