काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)मा गैरआधाकारिक व्यक्तिलाई प्रवेश गराएर सूचीकृत कम्पनीहरुको सम्वेदनशील सूचनाहरुमा व्यापक चलखेल भइरहेको संगीन आरोप नेतृत्वमाथि लागेको छ । 

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त कृष्ण कार्कीले गलत ढंगले एक विज्ञलाई नेप्सेमा छिराएर अनधिकृत रुपमा कम्पनीहरुको सम्वेदनशील सूचनाहरुको व्यापार गरिरहेका संगीन आरोप लागेको हो । 

सीइओ कार्की र उनले खटाएका विज्ञको मिलेमतोमा नेप्सेभित्र दैनिकजसो गलत कामहरु हुन थालेका त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । 

सीइओ कार्कीले डेरिभेटिभ मार्केटको सम्भाव्यता अध्ययनका नाममा विज्ञको रुपमा भित्र्याएका कृष्ण गिरीले नेप्सेको स्रोतसाधन दुरुप्रयोग गरी सूचीकृत कम्पनीहरुको सम्वेदनशील सूचनाहरुमा व्यापक चलखेल गरिरहेका आरोप कर्मचारीले लगाएका छन् । 

कृष्ण गिरीलाई नेपालमा डेरिभेटिभ मार्केटको सम्भाव्यता अध्ययनका लागि ६ महिना कार्यकाल हुने गरी नेप्सेले नियुक्त गरेको थियो । तर, गिरीले नियुक्ति भएदेखि नै पाएको जिम्मेवारीभन्दा फरक नेप्सेको कार्यकक्ष र स्रोतसाधनको प्रयोग गरी बजारमा चलखेल गरिरहेका स्रोतको दाबी छ । 

विज्ञको रुपमा नियुक्त भएको केही महिनापछि कृष्ण गिरीले आफ्नो पदबाट राजीनामा समेत दिएका थिए । उनको राजीनामा सीइओ कार्कीले आफ्नै ड्रयरमा थन्काएर राखेका छन् । राजीनामा दिएपछिका दिनहरुमा उनले हाजिरी समेत गरेका छैनन् । 

स्रोतकाअनुसार २०७९ कात्तिक १४ गतेदेखि नेप्सेको सिस्टममा उनी लगातार गयल छन् । तर, उनले नेप्से आउने, त्यहाँको कार्यकक्ष प्रयोग गर्ने, विभिन्न विभागका कर्मचारीहरुलाई थर्काउने, सरोकार नै नभएका गोप्य सूचनाहरु माग्ने, सूचीकृत कम्पनीहरुलाई समेत अति सम्वेदनशील सूचना समेत उपलब्ध गराउन भन्दै सम्बद्ध विभागका कर्मचारीलाई दवाब दिने लगायतका काम गर्दै आएका छन् । ‘राजीनामा दिइसकेपछि कार्यालयमा हाजिरी समेत नगरेका कृष्ण गिरीलाई हामी चिन्दैनौं । तर उनले मागेका सूचना दिएनौं भने सीइओ कार्कीले कार्यालयमा बोलाएर जागिर खाइदिनेसम्मको धम्की दिन्छन् ।’ एक पीडित कर्मचारीले भने–‘अनधिकृत व्यक्तिको प्रयोग गरेर सीइओ कार्कीले नेप्सेमा नाङ्गो नाच नाचेका छन् । सम्वेदनशील सूचनाहरुको ठूलो व्यापार भइरहेको छ । यो विषयमा छानबिन हुनुपर्यो ।’ 

कतिपय कर्मचारीहरुले नेप्सेका सीइओ कृष्ण कार्कीलाई पूर्व अर्थमन्त्री जनार्दन शर्माको पर्यायको रुपमा समेत चित्रण गर्न थालेका छन् । जनार्दन शर्माले गलत ढंगबाट अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा छिराएर करका दरहरुमा चलखेल गरेजस्तै कार्कीले पनि अनधिकृत व्यक्तिको रुपमा रहेका गिरीलाई प्रयोग गरेर व्यापक चलखेल गरिरहेका आरोप लागेको छ । ‘अर्थमन्त्रालय, धितोपत्र बोर्डदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मले पनि यो विषयमा चासो दिएर छानबिन गरोस् ।’ कर्मचारीहरु भन्छन्–‘नेप्सेको आधिकारिक कर्मचारी र विभागीय प्रमुखहरुलाई पन्छाएर सीइओ सा’बले कृष्ण गिरीमार्फत काम गराउने गर्नुहुन्छ, जुन गलत छ । उहाँहरु र सेयर खेलाडीहरुको मिलेमतोमा सूचनाहरु चुहाएर करोडौं कमाउने काम भइरहेको छ । यो विषयमा छानबिन होस् ।’

विज्ञको रुपमा नेप्से भित्रिएका गिरीले आफ्नो नाममा ब्रोकर कम्पनी खोल्न आवेदन दिएका भए पनि तिनै व्यक्तिलाई राख्न सीइओले मरिहत्ते गर्नुलाई कर्मचारीहरुले ‘अनैतिक काम’ भनेका छन् । ‘एकातिर जसले ब्रोकरका लागि लाइसेन्स निवेदन दिएको छ, अर्कोतिर त्यही व्यक्ति नेप्सेको तर्फबाट सूचीकृत कम्पनीहरुसँग गोप्य र सम्वेदनशील सूचना माग्दै हिँडिरहेको छ । यो चरम वेथिति अन्त्य हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।’ कर्मचारीहरुले भने–‘फ्रन्टलाइन रेगुलेटरको आडमा भइरहेको यस्तो खेल तत्काल अन्त हुनुपर्छ । गिरीलाई अगाडि सारेर गैरकानूनी काम गरिरहेको सीइओ कार्कीलाई तत्काल सरकारले बर्खास्त गर्नुपर्छ ।’ 

कृष्ण गिरीले नेप्से छाड्न खोज्दा मैले नै रोकेर राखेको हो: सीइओ
नेप्सेका सीइओ कृष्णबहादुर कार्कीले कर्मचारीले आरोप लगाएजस्तो कुनै पनि सम्वेदनशील सूचनाको दुरुपयोग नभएको दाबी गरे । 

सेयर बजारको विषमा नेपाली बजारमा उपलब्ध विज्ञमध्ये कृष्ण गिरी अब्बल रहेका र उनको सहयोगमा नेप्से फिफ्टी इण्डेक्स विकास गर्ने काम भइरहेको जानकारी गराए । ‘नेप्से फिफ्टी इण्डेक्सको परीक्षणका लागि आवश्यक सूचनाहरु मेरै निर्देशनमा सूचीकरण विभागले सूचीकृत कम्पनीसँग मागेको हो । यसमा कृष्ण गिरी जीको व्यक्तिगत इन्ट्रेस्ट छैन ।’ उनले भने–‘बजारमा गिरीजत्तिको विज्ञता भएको व्यक्ति भेटिन गाह्रो परेरै मेरो करमा उहाँले काम गरिरहनुभएको हो । उहाँ नेप्सेका लागि आवश्यक विज्ञ पनि हो ।’ 

आफूले बजारमा सुधार गरी केही नयाँ गर्न खोज्दा त्यो नचाहने कर्मचारीहरुबाट आफूलाई असहयोग भएको उनको दाबी छ । ‘यहाँ काम गर्नुभन्दा गरेको काम बिगार्न चाहने साथीहरु छन्, तिनैले तपाईलाई भए/नभएको कुरा सुनाएका हुनसक्छन् ।’ उनले भने–‘हाम्रो काम गर्ने तरिका प्रष्ट र पारदर्शी छ । यसमा शंका गर्नुपर्ने कुनै ठाउँ छैन ।’ 

उनले कृष्ण गिरी नेप्सेको विज्ञको रुपमा काम गरिरहेको अवस्थामा ब्रोकर कम्पनीका लागि लाइसेन्स निवेदन दिएपछि उनले राजीनामा दिएका र आफूले नै गिरीको विज्ञता आवश्यक भएकोले राजीनामा स्वीकृत नगरी काममा लगाइरहेको प्रष्ट पारे । ‘उहाँले त उहिल्यै नेप्से छाडेर हिँड्न खोज्नु भएको हो, तर मैले नै रोकेर राखेको हो ।’ सीइओ कार्कीले भने–‘मेरो निर्देशनमा उहाँले कर्मचारीहरुबाट डेटा माग्नु भएको होला, केही काम अह्राउनुभएको होला । त्यो विषयलाई समेत साथीहरुले इस्यू बनाएका हुनसक्छन् ।’ 
 
म सीइओकै मरिहत्तेमा नेप्सेमा बसिरहेको हुँ: कृष्ण गिरी
आरोपी नेप्सेमा विज्ञको रुपमा काम गरिरहेका कृष्ण गिरीले आफू नेप्सेका सीइओ कृष्ण कार्कीको निर्देशनमा त्यहाँ बसेर काम गरिरहेको प्रष्ट पारे । ‘मेरो व्यक्तिगत इन्ट्रेस्ट केही पनि छैन । मैले जुन बेला राजीनामा दिएँ, त्यसपछि मैले बिनापारिश्रमिक काम गरिरहेको छु । यो बिल्कुल नेपाली सेयर बजारका लागि योगदान दिने मेरो पागल सपनाले गर्दा भएको हो ।’ उनले भने–‘बिना पारिश्रमिक किन काम गर्यो भनेर मानिसले भन्लान्, म सेयर बजारको सुधार र विकासका लागि पागल भएर लागेको मान्छे हुँ । यसमा पारिश्रमिकले कुनै अर्थ राख्दैन ।’

आफ्नो सक्रियतामा ‘नेप्से-50’ इण्डेक्स र सूचीकृत कम्पनीका लागि विनियमावली समेत बनिरहेको उल्लेख गर्दै सुधारका अन्य काम पनि भइरहँदा त्यो मन नपर्नेहरुबाट आफ्नो विरोध भएको हुनसक्ने उनको अनुमान छ । ‘नेप्सेका कर्मचारीहरुलाई म त्यहाँ गएको मन पर्दैन भने म जाँदिन ।’ उनले भने–‘मैले बजारकै लागि केही गर्न खोजेको हो । मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन ।’ 

उनले अवसर पाएको खण्डमा आफू नेप्सेका सीइओ कार्कीको नाभीको रुपमा काम गर्न पनि तयार रहेको प्रष्ट पारे। 

‘सीइओ सा’बले मेरै लागि ११ औं तहमा काम गर्नुपर्छ, म सञ्चालक समितिमा प्रस्ताव लैजान्छु पनि भन्नुभएको थियो ।’ गिरीले भने–‘मैले नै त्यसमा असहमति जनाएको हुँ । सायद नेप्सेका कतिपय साथीहरुलाई उहाँहरुभन्दा माथि म आउँछु कि भन्ने पीर पनि परेको होला ।त्यही असन्तुष्टि तपाईहरुसम्म आएको हुनसक्छ।’ 

उनले आफूले नेप्सेबाट उपलब्ध कुनै पनि सूचना दुरुपयोग नगरेको र गरेको भए प्रमाणित गरेर देखाउन आरोप लगाउनेहरुलाई चुनौति समेत दिए ।