काठमाण्डौ । विदेशी साझेदार बंगलादेशको ढाकामा रहेको आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्री गर्ने भएको छ। 

नेपाल बंगलादेश बैंकले आज एक सूचना प्रकाशित गर्दै विदेशी साझेदार आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकको आफ्नो स्वामित्वको सम्पूर्ण सेयर बिक्री गर्न चाहेको जनाएको हो। जसअनुसार आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापाक सेयर बिक्री गर्नेछ। 

यस विषयमा नेपाल बंगलादेश बैंकको हिजो बसेको सञ्चालक समितिले निर्णय पनि गरेको छ। सोही निर्णयबमोजिम बैंकले ३५ दिने सूचना प्रकाशन गरेको हो।

सञ्चालक समितिका बैठकले आईएफआईसी बैंकले आफ्नो स्वामित्वको सेयरसँगै आर्थिक वर्ष २०७७/८८ कुनै बोनस सेयर प्राप्त भएमा सोसमेत बिक्री गर्नका लागि बाटो खुला गरेको छ। 

सूचनामा उल्लेख भएअनुसार आईएफआईसीले बिक्री गर्न लागेको सेयर खरिदका लागि पहिलो प्राथमिकता हाल कायम संस्थापक सेयरधनी नै रहनेछन्। 

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पनि सेयर बिक्री नभएमा अन्य व्यक्ति तथा संघसंस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । सेयर खरिदका लागि कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण, फिट एन्ड प्रपर टेस्टबाट संस्थापक सेयर खरिद गर्न योग्य भएको प्रमाणलगायतका कागजात पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। 

यसका साथै प्राप्त आवेदनमा प्रस्तावित खरिद गर्न चाहेको सेयरको मूल्य र संख्याका आधारमा जुनसुकै आवेदन स्वीकार वा अस्वीकार गर्नसक्ने अधिकार बिक्रेता आईएफआईसी बैंकसँग सुरक्षित रहेको जानकारी पनि सूचनामा गराइएको छ।