काठमाण्डौ । देशको बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती घटेर १३ वर्षअघिकै सकसपूर्ण अवस्थामा पुगेको छ । 

नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्मको अवस्थाबाट १३ वर्षअघिकै सकसपूर्ण अवस्थामा विदेशी विनिमय सञ्चिती रहेको देखिएको हो । 

२०६५ फागुनदेखि २०६७ बैशाखसम्म लगातार बैंकहरुसँग ६.८ महिनाको वस्तु तथा सेवा आयात गर्नसक्ने मात्र विदेशी मुद्राको सञ्चिती रहेको थियो ।

पछिल्लो समय आयातमा भइरहेको तीव्र वृद्धिका कारण २०६८ मंसिर मसान्तसम्म बैंकहरुमा सञ्चित रहेको विदेशी मुद्राले पनि ६.८ महिनाको वस्तु तथा आयात मात्र धान्न सक्ने अवस्था देखिएको हो । 

केन्द्रीय बैंककाअनुसार आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ५६.९ प्रतिशत र २३.२ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १२.९ प्रतिशतले कमी आई रु.१०८४ अर्ब ६४ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १६.२ प्रतिशतले कमी आई रु.१२९ अर्ब ४० करोड कायम भएको छ । २०७८ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

डामाडोल बाह्य क्षेत्र
पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्र डामाडोल बन्दै गएको छ । केन्द्रीय बैंकले प्रकाशित गरेको मंसिर मसान्तसम्मको तथ्यांकले समेत एक महिनाअघिको तुलनामा बाह्यक्षेत्र झनै अस्तव्यस्त बनेको देखिएको हो । 

आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भई रु.१०२ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई रु.८३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई रु.७३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई रु.३८८ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा चालु खाता रु.३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । कात्तिक मसान्तसम्ममा चालु खाता रु.२२३ अर्ब १९ करोडले घाटामा थियो । यसरी हेर्दा एक महिनामै चालु खाताको घाटा ७७ अर्बले बढेको देखिएको छ । यो अवस्था भयावह हो । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको छ । चालु आबको कात्तिक मसान्तसम्ममा शोधनान्तर स्थिति रु.१५० अर्ब ३८ करोडले घाटामा थियो । यसरी एक महिनामै शोधानान्तर स्थितिको घाटा करिब ४५ अर्बले बढेको देखिएको छ ।