काठमाण्डौ । बुधबार सार्वजनिक भएको मौद्रिक नीतिले विदेशी विनियम व्यवस्थापनमा निकै धेरै सुधारका कार्यक्रम सार्वजनिक गरेको छ । 

गभर्नर डा. चिरञ्जिवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै विदेशी विनियम व्यवस्थापनका लागि भएका केही नयाँ व्यवस्थाहरुको बिषयमा जानकारी गराएका हुन् । 

मौद्रिक नीतिमा तेस्रो मुलुकबाट अमेरिकी डलर ४० हजार भन्दा माथिको सामान आयात गर्नुपर्दा अनिवार्य रूपले प्रतीतपत्र मार्फत्गर्नुपर्ने व्यवस्था गरिने तथा भारतबाट हुने भा.रु. ५ करोडभन्दा बढीको वस्तु आयात अनिवार्य रूपले प्रतीतपत्र मार्फत् गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल सरकारले जारी गरेको ट्राभल डकुमेण्टको आधारमा विदेश भ्रमणमा जानुपर्दा राहदानी सुविधा माग गर्नेहरूलाई स्थलगत मार्ग प्रयोग गरे सरह अमेरिकी डलर १,००० सम्मको सटही सुविधा दिइने तथा वाणिज्य बैंकहरूले औद्योगिक कच्चा पदार्थ आयात गर्न विदेशी मुद्रामा प्रवाह गर्ने कर्जाको अवधि ९० दिनबाट १८० दिन बनाइने समेत नीतिमा उल्लेख छ ।

विदेशी लगानीमा स्थापना भएका तोकिएका उद्योग तथा परियोजनामा विदेशी लगानीकर्ताले भित्र्याएको परिवत्र्य विदेशी मुद्राको रकम नेपालका वाणिज्य बैंकहरुमा निक्षेप राखी सोको धितोमा नेपाली मुद्रामा कर्जा लिन सक्ने व्यवस्था समेत गरिएको छ । 

यसैबीच, मौद्रिक नीतिले सुनचाँदी व्यवसायीहरुको लागि वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण आवश्यकता अनुसार उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ठ आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था समेत मिलाएको छ । 

सुनचाँदी व्यवसायीहरुले यस बैंकबाट इजाजतपत्र लिई विदेशी, गैर–आवासीय नेपाली, कुटनीतिक नियोगका पदाधिकारीहरुलाई स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा सुनका गरगहना बिक्री गरेमा डिम्ड एक्सपोर्ट(Deemed Export)सरह निर्यात भएको मानी विद्यमान व्यवस्था बमोजिम सुन उपलब्ध गराउने व्यवस्था गरिने समेत बताइएको छ ।