– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारमा विगत केही दिनदेखि एमसीसी, गठबन्धनको भविष्य, बढ्दो ब्याजदरलगायतका विषयमा बहस र चर्काचर्कीको हुँदै आएको छ। अहिले लगानीकर्ताको ध्यान भने फरक विषयमा केन्द्रित भएको देखिन्छ। त्यो हो नेपाल विद्युत् प्राधिकरणको आईपीओ।

प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नै १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको थियो। त्यसैले पनि विगत केही वर्षदेखि अर्बौं नाफामा रहेको नेपाल विद्युत् प्राधिकरणले आईपीओ निष्कासन गर्ने खबर लगानीकर्तामा थप चासोको विषय बनेको छ।

अहिले नयाँ लगानीकर्ताको संख्या बढेसँगै आईपीओमा आवेदन दिने अधिकांश लगानीकर्ताको हात खाली हुने गरेको छ। तर, लामो समयसम्म नाफामा रहेको प्राधिकरणले ठूलो संख्यामा आईपीओ निष्कासन गर्ने खबरले नयाँ लगानीकर्ता भने उत्साहित भएको देखिन्छन्।

सीडीएससीको पछिल्लो तथ्यांकअनुसार अहिले झन्डै ५० लाख डिम्याट खाता खुलेका छन्। त्यसमा करिब डेढ वर्षको अवधिमा झन्डै ३० लाख खाता खोलिएका छन्। डिम्याट संख्या बढेसँगै आईपीओमा आवेदन दिने आवेदकको संख्या बढ्दो छ। निष्कासन भएको कम्पनीको आईपीओमा २०–२५ लाख आवेदकले आवेदन दिने भएकाले अधिकांश लगानीकर्ताको हात अचेल खाली हुने गरेको छ। 

प्राधिकरणको आईपीओ कहिले आउने हो ? प्राधिकरणले कति कित्ता आईपीओ निष्कासन गर्ने हो ? लगायतको प्रश्न आमलगानीकर्तामा भएको देखिन्छ।

विगत केही दिनदेखि फेसबुक, भाइबर, ट्विटरलगायत अन्य सामाजिक सञ्जालमा प्राधिकरणले चुक्तापुँजीको २५ प्रतिशत अर्थात् रु. ३१ अर्बबराबरको आईपीओ निष्कासन गर्न लागिएको भन्ने खबरले भरिपूर्ण छ। 

वास्तवमा यो खबर सेप्टेम्बर २०१९ को हो। त्यस बेला नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले चुक्तापुँजीको २५ प्रतिशतबराबरको आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाउने भनेका थिए। अहिले सामाजिक सञ्जालहरुमा प्राधिकरणको आईपीओबारे त्यही समाचारले ठाउँ पाएको देखिन्छ।

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ प्राधिकरणले तत्काल नै आईपीओ निष्कासन गर्ने भनिएको हल्लामात्र भएको बताए। ‘प्राधिकरणले आईपीओ निष्कासनका लागि केही प्रक्रिया अघि बढेको मात्र हो। त्यस प्रक्रियामध्ये इक्रा रेटिङ पनि एक हो’, उनले भने।

विद्युत प्राधिकरणले डबल ए प्लस रेटिङ पाएको छ। जुन एकदमै राम्रो हो। तर, आईपीओ निष्कासनका लागि अझै थुप्रै काम भने बाँकी रहेको घिसिङ बताउँछन्। 

अर्थ मन्त्रालयका साथै क्याबिनेटको सहमति पछि मात्र आईपीओ निष्कासन गर्न मिल्ने घिसिङले बताए। ‘त्यसैले नेपाल सरकारको सहमति बिना अहिले तत्काल कहिले निष्कासन हुन्छ भनेर भन्न सकिँदैन’, उनले भने।

‘नेपाल विद्युत् प्राधिकरण ऐनमा पनि आईपीओ निष्कासन गर्न मिल्ने व्यवस्था छ। तर, कति निष्कासन गर्ने, कसरी जानेलगायत थुप्रै काम भने अझै बाँकी नै छ’, उनले भने।

ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधान नेपाल विद्युत् प्राधिकरणले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनु स्वागतयोग्य कुरा रहेको बताउँछन्। ‘प्राधिकरणजस्तो त्यत्रो पुँजी भएको नाफामा भएको कम्पनीले आईपीओ निष्कासन गर्नु धेरै नै राम्रो कुरा हो’, उनले भने।

प्राधिकरणको ग्रोथ हुँदैछ। व्यापार पनि बढ्दो क्रममा छ। ६ महिनामा मात्र १२ अर्ब नाफा कमाएको संस्थाले आईपीओ निष्कासन गर्दा लगानीकर्ता, बजारका साथै समग्र हाइड्रो सेक्टरलाई राम्रो हुने प्रधानको भनाइ छ।