काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि भारतमा विद्युत निर्यात सुरु गरेको छ। 

आन्तरिक उत्पादन मागभन्दा बढी हुन थालेकोले खपत हुन नसकेको विद्युत भारतमा निर्यात गर्न सुरु गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले त्रिशूली र देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित विद्युत भारतमा निर्यात सुरु गरिएको छ।

हाल नेपालको विद्युत उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ। निरन्तर वर्षा भइरहेका कारण पनि उत्पादन बढेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७.७ मेगावाट बिजुली निर्यात सुरु गरेको हो। भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ‘ब्लक’मा नेपालले आफ्नो विद्युत बिक्रीका लागि राखेको छ। प्रत्येक ब्लकका बिजुली फरक-फरक मूल्यमा बिक्री हुन्छ। भारतले प्रतियुनिट अधिकतम भारु १२ मा खरिदबिक्री गर्न सक्ने गरी सीमा तोकेको छ।

यसअघि गत वर्षको मंसिर २४ गतेसम्म भारतमा नेपालले ३९ मेगावाट बिजुली निर्यात गरेको थियो। त्यसपछि आन्तरिक उत्पादन घट्दा भने भारतबाट बिजुली आयात गरिएको थियो।