काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले शनिबार सञ्चालन हुँदै आएको विद्युत महसुल संकलन काउन्टर कात्तिक १ गतेदेखि बन्द गर्ने भएको छ। 

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गतेदेखि शनिबार सञ्चालन हुँदै आएको विद्युत महसुल संकलन काउन्टर बन्द हुने जानकारी गराएको हो। 

विद्युत उपभोक्ताले विद्युत सेवा उपभोग गरेबापत भुक्तानी गर्नुपर्ने महसुल प्राधिकरणका नियमित काउन्टरका अतिरिक्त हाल विभिन्न सेवा प्रदायक कम्पनीहरुमार्फत पनि हरेक दिन बिहान १० बजदेखि राति १२ बजेसम्म अनलाइन पेमेन्ट माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। 

यसअघि अनलाइन पेमेन्टको सुविधा नभएको अवस्थामा प्राधिकरणका केही वितरण केन्द्रहरुमा उपभोक्ताले विद्युत महसुल बुझाउने क्रममा हुने भीडलाईध्यानमा राख्दै अतिरिक्त सहसुलियतका रुपमा शनिबारका दिनहरुमा पनि विद्युत महसुसल संकलन काउन्टर खुला गरिएको थियो। 

हाल ती काउन्टरहरु खोलिराख्न आवश्यक नदेखिएको आउँदो कात्तिक १ गतेबाट बन्द हुने प्राधिकरणले जनाएको छ।