काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय विद्युत् चुहावट घटाउँदै लगेको छ। 

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७९–८० को मंसिरसम्म समग्र विद्युत् प्रणालीको चुहावट १२.०५ प्रतिशत छ। गत असार मसान्तसम्म यस्तो चुहावट १५.३८ प्रतिशत रहेको थियो।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। पहिलो ५ महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारिएको प्राधिकरणद्वारा विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको सञ्चित चुहावट पोहोरको तुलनामा यस वर्ष १.७४ प्रतिशत विन्दुले घटाइएको उल्लेख छ। प्राधिकरणका अनुसार गत वर्ष मंसिरसम्म वितरणतर्फको विद्युत् चुहावट ९.२३ प्रतिशत थियो। मंसिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट बिक्री भएको र ३१ करोड ७ लाख ७९ हजार युनिट चुहावट भएको प्राधिकरणको भनाइ छ।

मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ।

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालयमातहतका वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ। प्रादेशिक कार्यालय जनकपुरमातहतका २३ वटा वितरण केन्द्रहरुको मंसिरसम्ममा समग्र विद्युत् चुहावट १२.८० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा १२.९७ प्रतिशत थियो।