काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा बस्ने मिति परिमार्जन गरेको छ। 

संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा अब जेठ ३१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा सिन्धुपाल्चोकको फटकशिला–८ स्थित इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बिहान ११ बजेबाट हुनेछ।

वार्षिक साधारणसभा मिति परिमार्जन भएसँगै संस्थाले बुक क्लोजको मिति पनि परिवर्तन गरेको छ। अब वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

यसअघि संस्थाले आफ्नो वार्षिक साधारणसभा जेठ २० गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा प्रयोजनका लागि जेठ ३ गतेदेखि जेठ २० गतेसम्म बुक क्लोजको गर्ने भनिएको थियो। 

नेप्से वार्षिक साधारणसभा र बुक क्लोजका विषयमा ७ दिनअगावै जानकारी गराउनुपर्ने व्यवस्था उल्लंघन गरेको भन्दै विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। 

सभाले संस्थाले गरेको साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा गाभिएपछि कायम चुक्तापुँजी ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँको सञ्चित मुनाफा ९.३३ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ संस्थाले ०.५ प्रतिशत नगद लाभांश पनि प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु पनि अनुमोदन गर्नेछ।