पोखरा । चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । 

प्रवासी÷आप्रवासी नागरिकहरूले परिवारको लालनपालन र आफू जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्स मार्फत पुर्याउदै आएको महत्वपूर्ण योगदानको सम्मानमा सन् २०१५ देखि हरेक जुन १६ मा यो दिवस मनाउने गरिएको छ ।

समग्र विश्वको विकासका लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, निजी र  सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको आइएमले जनाएको छ । 

‘सुरक्षित रेमिटेन्सका लागि आधिकारिक माध्यम नै प्रयोग गरौं’ भन्ने नारा अंकित प्लेकार्ड बोकेर गरिएको प्रभातफेरीमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्धनिर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईकाबब्राण्ड एम्बास्डर दिपकराज गिरी र दीपा निरौला लगायत आइएमईका व्यावसायिक साझेदार एवम् आइएमई ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरू सहित करिब २ सयजनाको उपस्थिती रहेको थियो ।

पोखरा बिरौटास्थित पोखरा ग्राण्ड होटलबाट शुरु भएको प्रभातफेरी मुस्ताङ्गचोक हुँदै पृथ्वीचोकबाट पुनः होटलमा आई समापन भएको थियो ।