काठमाण्डौ । चालु आर्थिक वर्षमा आम अनुमानविपरीत नेपाल भित्रिने विप्रेषण बढेको बढ्यै छ । चालु आबको पहिलो महिनामा चमात्कारिक ढंगले बढेको विप्रेषण दोश्रो महिनामा पनि बढेको देखिएको हो । 

नेपाल राष्टबैंकले बुधबार प्रकाशित गरेको चालु आबको प्रथम २ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको समीक्षामा यस्तो देखिएको हो । 

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.१ प्रतिशतले र अमेरिकी डलरमा २.६ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भई रु.१६५ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा चालु खाता रु.२६ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ । 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आई रु.१ अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई रु.२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ९८ करोड रहेको थियो । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.८ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।

यसैगरी, २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.३ प्रतिशतले वृद्धि भई २०७७ भदौ मसान्तमा रु.१४३३ अर्ब ६७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७७ भदौ मसान्तमा रु.१२५५ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७७ भदौ मसान्तमा रु.१७८ अर्ब ६६ करोड पुगेको छ । २०७७ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

मुद्रास्फीति
२०७७ भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ । 

२०७६ भदौको तुलनामा २०७७ भदौमा तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेको छ । काठमाडौं उपत्यकामा ३.६६ प्रतिशत, तराईमा ४.७१ प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ४.५१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ भदौमा यी क्षेत्रहरुमा क्रमशः ७.९० प्रतिशत, ५.६९ प्रतिशत, ५.०९ प्रतिशत र ५.०२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई रु.२० अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ । 

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर रु.१७८ अर्ब ८५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ । 

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा खुद सेवा आय रु.५ अर्ब ४५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.५ अर्ब ८० करोडले घाटामा रहेको थियो । 

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९०.५ प्रतिशतले कमी आई रु.९७ करोड ३७ लाख कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१० अर्ब २१ करोड रहेको थियो । 

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ८०.० प्रतिशतले घटी रु.२ अर्ब ९२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.२ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.१४ अर्ब ६३ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.७ अर्ब ६४ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.५० अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.१०५ अर्ब ५ करोडले बचतमा रहेको थियो ।

निक्षेप परिचालन
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८.७ प्रतिशतले बढेको छ । 

भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.५ प्रतिशत, ३२.६ प्रतिशत र ५०.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३२.५ प्रतिशत र ४८.३ प्रतिशत रहेको थियो । 

२०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.२ प्रतिशत रहेको छ । २०७६ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ४४.६ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ९.८ प्रतिशतले बढेको छ ।

भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.३ प्रतिशत र १३.७ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र निर्माण क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले घटेको छ भने यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २.८ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा ४.७ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.३ प्रतिशतले,रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ७.९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको छ ।

ब्याजदर
२०७६ भदौमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.७३ प्रतिशत रहेकोमा २०७७ भदौमा ०.१३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ भदौको १.६९ प्रतिशतको तुलनामा २०७७ भदौमा ०.०८ प्रतिशत कायम भएको छ । 

वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ भदौमा ९.५३ प्रतिशत रहेकोमा २०७७ भदौमा ७.८३ प्रतिशत कायम भएको छ । २०७७ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.६१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.१८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.८० प्रतिशत र ११.९७ प्रतिशत रहेका थिए ।