काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गएको हप्ता देशका विभिन्न ठाउँमा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। 

महिला समुदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आयआर्जन गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। गत पुस ४ गतेबाट सुरु भएको यो अभियान गएको हप्ता पोखरा, बेनी, बुटबल, लम्की, चन्द्रगढी, बीरगन्ज र बेलौरीमा पनि सम्पन्न भएको थियो। गत पुस १६ गते बुटबलको ग्रिन भ्याली पार्टी प्यालेसमा लक्ष्मी रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५० जनाको सहभागिता थियो। शाखा प्रमुख गणेश भुसालबाट सञ्चालित कार्यक्रममा आर्यन खान र मार्केटिङ मेनेजर यम लाल न्यौपानेले महिला सशक्तीकरणमा महालक्ष्मी लाईफले ल्याएको यो अभियानले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

त्यसैगरी सोही दिन बेनीमा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिकी अध्यक्ष दिलकुमारी घर्तीले महिलाहरुको तालिम र रोजगारीमा यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। 

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला, बेनी अस्पतालका डा. विराज आचार्य, कम्पनीको धौलागिरी प्रमुख जमुना आचार्य र समाजसेवी नीरमाया पुर्जा पुन गुरुङले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा ६० जना महिलाको सहभागिता थियो।

हिजो पुस १७ गते आइतबार बेलौरी उद्योग वाणिज्य संघको भवनमा पनि महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। ५५ जना महिलाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता बेलौरी नपा वडा नं. ७ का वडासदस्य विन्द्रावती रानाले गरेकी थिइन्। कम्पनीका कार्यालय प्रमुख प्रदीप तिवारीद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी बोहोरा र कार्यक्रमको महत्वबारेमा क्षेत्रीय प्रमुख हर्कबहादुर बोहोराले जानकारी गराएका थिए। 

पौष १६ गते नै महिला सशक्तीकरणसम्बन्धी छुट्टाछुट्टै कार्यक्रम पोखरा, लम्की, चन्द्रगढी र वीरगञ्जमा पनि सम्पन्न भएको थियो। समाजका अगुवा महिला र जनप्रतिनिधिहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमले तालिम, रोजगारी र आय वृद्धिको यो कार्यक्रमले महिलाहरुको आत्मबल बढाउन र सशक्तीकरणमा ठूलो योगदान दिने विश्वास व्यक्त गरियो। 

महालक्ष्मी लाइफले यो कार्यक्रम आर्थिक वर्ष २०७९–८० भित्र ३० जिल्लामा सञ्चालन गरी ६० जनालाई प्रत्यक्ष र ३ हजारजनालाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिएको छ।