काठमणडौ । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको छ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटनाउने निर्णय गरेको हो।

हरेक वर्ष विभिन्न क्षेत्रमा सेवा पुर्याउनेहरुलाई १० किसिमका विभूषण तथा पदक सरकारले प्रदान गर्दै आएको छ। तीमध्ये सबैभन्दा बढी नेपाल रत्न पदकमा धेरै सुनको प्रयोग हुन्थ्यो। अब यो पदकमा ८५ ग्राम सुन घटनाएर अब ९० ग्राममात्रै राख्ने निर्णय सरकराले गरेको छ। यो पदमा ४२५ ग्राम चाँदी र ४२ ग्राम हीरा पनि प्रयोग हुन्छ।

राष्ट्र गौरव पदकमा ४५ ग्राम सुन प्रयोग हुने गरेकोमा अब ३० ग्राममात्र प्रयोग गर्ने सरकारले निर्णय गरेको छ। 

यस्तै राष्ट्रदिपतर्फ महाउज्वल राष्ट्रदीप प्रथम श्रेणीमा १३० ग्राम सुन प्रयोग हुँदै आएकोमा अब ८५ ग्राम मात्रै प्रयोग हुनेछ। यो पदकमा १०० ग्राम चाँदी पनि प्रयोग हुन्छ। 

उज्वल कीर्तिमय राष्ट्रदीप द्वितीयमा ९० ग्राम सुन प्रयोग हुने गरेकामा अब ६० ग्राममात्रै प्रयोग हुनेछ। त्यस्तै सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा ४५ ग्राम सुन प्रयोग हुने गरेकामा अब ३० ग्राममात्रै प्रयोग गर्ने निर्णय सरकारले गरेको छ। 

कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा ३५ ग्राम सुन प्रयोग हुने गरेकामा अब २० ग्राम मात्रै प्रयोग हुनेछ। यसमा १५० ग्राम चाँदी पनि प्रयोग हुन्छ।

राष्ट्रदीप पञ्चम श्रेणीमा ६ ग्राम सुन प्रयोग हुँदै आएको थियो। यसलाई यथावत् राखिएको छ।

यसैगरी जनसेवाश्रीतर्फ सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणीतर्फ १२० ग्राम सुन प्रयोग हुँदै आएकोमा अब ८४ ग्राम सुनमात्रै प्रयोग गरिनेछ। यसमा १०० ग्राम चाँदी पनि प्रयोग हुन्छ।

प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीतर्फ ८५ ग्राम सुन प्रयोग हुने गरेकामा अब ५९ ग्राममात्रै प्रयोग गर्ने सरकारले निर्णय गरेको छ। सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ३५ ग्राम सुन प्रयोग भएकामा अब २५ ग्राम प्रयोग हुनेछ।