काठमाण्डौ । नेपाल टेलिकमले बुधबारदेखि विदेशी पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै निःशुल्क रुपमा सिम वितरण कार्य सुरु गरेको छ । 

एक कार्यक्रमका बीच सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाले निःशुल्क सिम बितरण कार्यको शुभारम्भ गरेका हुन् । 

सो अवसरमा मन्त्री राईले संविधान घोषणा भइसकेपछि देश आर्थिक विकासतिर अग्रसर भइरहेको सन्दर्भमा नेपाल टेलिकमले विदेशी पर्यटकहरुलाई निःशुल्क सिम वितरण कार्य आरम्भ गरेर पर्यटन प्रबद्र्धनलाई टेवा पुर्याउने कार्य गरेको र यसले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए । 

सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एकनारायण अर्याल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला र नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतहरुको उपस्थिति थियो ।

टेलिकम प्रवक्ता प्रतिभा वैद्यका अनुसार नेपाल पर्यटन बोर्डको सहकार्यमा कम्पनीले सिम वितरण कार्य प्रारम्भ गरेको हो ।  हाललाई आगमन कक्षमा रहेको पर्यटन बोर्डकै डेस्कमार्फत सिम बितरण गरिने उनले बताए । विदेशी पर्यटकहरुको पासपोर्ट र फोटोको आधारमा सिम प्रदान गरिने उनले जानकारी दिइन । 

सिमकार्डमा रु. ५० को टक भ्यालू समेत रहेको छ । पर्यटकलाई नेपाल आउदा सञ्चार सम्पर्क र इन्टरनेट सुविधा सहज होस् भन्ने हेतुले यो सेवा उपलब्ध गराइएको वैद्यले प्रष्ट पारिन् । नेपाल  भ्रमणमा रहेका पर्यटकहरु कथम्कदाचित् सम्पर्कविहीन भएमा पनि सिममार्फत लोकेशन पहिल्याएर उद्धार गर्न सहज हुने बताइएको छ ।