काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विवादास्पद कम्पनी ‘गोल्डम्यान इन्भेस्टमेन्ट लिमिटेड’को बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। 

केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गर्दै गोल्डम्यान इन्भेस्टमेन्टको नाममा रहेको बैंक खाता रोक्का राख्न निर्देशन दिएको हो। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गोल्डम्यान इन्भेस्टमेन्टको गतिविधिलाई शंकाको घेरामा राखेपछि राष्ट्र बैंकले अनुसन्धान थप सहजताका लागि बैंक खाता रोक्का राख्न निर्देशन दिएको स्रोत बताउँछन्। 

राष्ट्र बैंकको निर्देशनसँगै अब यो कम्पनीका नाममा बैंकिङ कारोबार रोकिएको छ। 

यो कम्पनीको उद्घाटन २०७८ पुस १० गते गरिएको थियो। यो कम्पनी बजारका नामुद खेलाडी दिपेन्द्र अग्रवालको नेतृत्वमा स्थापना भएको हो। कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अहिले उनी नै छन्।

अग्रवालले लगानीकर्तालाई फेसबुक, युट्युब, भाइबरलगायत विभिन्न सामाजिक सञ्जालमा संस्थापक सेयरधनी बन्नका लागि आह्वान गरेका थिए। त्यस्तै कम्पनी स्थापना भएको ५ वर्षमा ५० वटा विभिन्न क्षेत्रका कम्पनी सञ्चालन गरिनुका साथै कम्पनीमा अहिले गरिएको १० लाख रुपैयाँको लगानी अबको १० वर्षमा १० करोड रुपैयाँ हाराहारी हुने उनको दाबी थियो। 

कम्पनी ऐन २०६३ को दफा ९ अनुसार प्राइभेट कम्पनी स्थापना गर्दा सेयरधनीहरुको संख्या १०१ भन्दा बढी हुन नहुने र पब्लिक कम्पनीहरुको सेयरधनीहरुको संख्या कम्तीमा ७ जना र बढीमा जतिसुकै हुने भनिएको छ। तर, गोल्डम्यानले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता हुनुका साथै कम्पनी सञ्चालनमा आएपछि पनि संस्थापक लगानीकर्ताहरुका लागि आह्वान गरेको छ।

धितोपत्र ऐनमा ५० जनाभन्दा बढी व्यक्तिसँग रकम संकलन गर्नुपरे नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति लिनुपर्ने भनिएको छ। तर, गोल्डम्यानले धितोपत्र बोर्डबाट अहिलेसम्म कुनै पनि किसिमको अनुमति लिएको छैन। 

त्यसका साथै कम्पनीका सीईओ अग्रवालले विभिन्न सामाजिक सञ्जालमा आफूहरुले सेयर बजार बुझेको र लगानी गर्न जानेको भन्दै ५० लाख रकमले बजारलाई नै प्रभावित गर्न सकिने अभिव्यक्ति दिँदै आएका थिए। धितोपत्र ऐन २०६३ को दफा ९६ अनुसार बजारलाई प्रभावित गर्ने किसिमका मूल्य बढाउने, घटाउने, स्थिर बनाउनेजस्ता कुनै पनि कार्य गरिएको खण्डमा ऐनबमोजिम कारबाही गरिने भनिएको छ।

सेबोनले दिपेन्द्र अग्रवाल र गोल्डम्यानले धितोपत्र ऐन र कम्पनी ऐनको ठाडो उल्लंघन गरी काम गरिएको भेटिएसँगै थप छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पत्राचार गरेको थियो।

सीआईबीले यो कम्पनीका विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ।