काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ।

बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले ११ वर्षअघि सरल बैंकिङ सबैका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पुँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जनालगायत सबै हिसाबमा ठूलो र मजबुद बैंक बनेकोे उल्लेख गरे। उनले बैंक आगामी दिनमा ग्राहकलाई अझ प्रभावकारी छिटोछरितो एवं गुणस्तरीय सेवा प्रदान गर्ने बताए। 

एघार वर्षअघि स्थापित बैंकको चुक्ता पुँजी २ अर्बबाट ९ अर्ब ५५ करोड, निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह १ अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको तथा ४४ जना कर्मचारीबाट एघार सयभन्दा बढी कर्मचारी संख्या पुगेको र अर्थतन्त्रमा महत्वर्पूण योगदान दिन सक्षम भएको श्रेष्ठले बताए। उनले बैंकको व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन कायम राखी बैंकलाई सेयरधनी, कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे। 

उक्त समारोहमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले संस्था स्थापनाकाल र यस बैंकलाई यहाँसम्म ल्याउन अतुलनीय योगदान गर्नु भएका सबैलाई हार्दिक धन्यावाद व्यक्त गरे। उनले आगामी दिनमा बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, आगामी दिनमा डिजिटलाइजेसनलाई जोड दिने, वित्तीय सचेतना अभिवृद्धि एवं उद्यमशिलता विकास गरी सामाजिक आर्थिक उत्थान एवं व्यवसाय वृद्धि गर्दै जाने बताए। 

कार्यक्रममा १० वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ४८ जना कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको थियो। 

वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकका अध्यक्ष श्रेष्ठले लुम्बिनी आई इन्स्टिच्युटका व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई आँखा उपचारमा प्रयोग हुने महत्वपूर्ण उपकरण Anterior Vitrectomy Machine  खरिदका लागि रु. ४ लाख २ हजार २८० र गोविन्द मेमोेरियल एकाडेमी दिङ्ला भोजपुरमा विद्यार्थीका लागि खानेपानी पाइप खरिदका निम्ति संस्थाका अध्यक्ष डा. सुरेश बस्नेतलाई रु. १ लाख सहयोग रकम हस्तान्तर गरे। 

यसका साथै बैंकले भोजपुर नगरपालिकामा आयोजित डा. भगवान कोइराला लगायत ५० जनाभन्दा बढी चिकित्सक संलग्न हुने स्वास्थ्य शिविर कार्यक्रमलाई रु. ५० हजार  र नेपाल रेडक्रस सोसाइटी कमलामाई सिन्धुलीलाई गरिब तथा विपन्न वर्गलाई स्वास्थ्य सेवामा सहयोग गर्न स्वास्थ्य सेवा कोष स्थापनाका लागि रु. १ लाख सहयोग प्रदान गरेको छ।  

एघारौं वार्षिकोत्वका अवसरमा बैंकले देशभरका विभिन्न शाखामार्फत वित्तीय साक्षरता, शिक्षा क्षेत्रमा सहयोग, संचेतना अभिवृद्धि, स्वास्थ्य, रक्तदान, परोपकार, वातावरण संरक्षण, सरसफाइ, लगायतका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बैंकको बेलवारी, वुटवल, धरान, लामीडाँडा, बेलाटारी, चिचिला, गरुडा, जलेश्वर, गौशाला, जनकपुर, वद्रिवास, सिराहा, धुलिखेल, पनौती, साँगा, मनहरी, धार्के, टेकु, बुटवल, लेते मुस्ताङ, नेपालगञ्ज, वेलाटारी, धनगढी, सती लगायतका शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन्। 

बैंकको रंगेली शाखाले डेन्टल शिवीर, झुम्का शाखाले आँखा चेक जाँच शिविर संचालन गरेको छ। कटारी शाखाले स्थानीय राधामन्दिर सरसफाइ, कमलामाई शाखाले कालीमाई मन्दिर, हलेशी शाखाले ऐतिहासिक हलेशी महादेव मन्दिर सरसफाइ, आठबीसकोट शाखाले नगरपालिकाको वार्ड नंं ९ मा डष्टबिन वितरण गरेको छ। त्यसैगरी विराटनगर, भैरहवा, परासी र कोहलपुर शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। विराटनगरमा ५१ जना, भैरहवामा ३६ जना, परासीमा २८ जना र कोहलपुरमा २६ जनाभन्दा बढीले रक्तदान गरेका थिए।    

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।