काठमाण्डौ । विश्वकै सबैभन्दा महङ्गो र ठूलो ब्राण्डको नयाँ सूचि सार्वजनिक भएको छ, जहाँ टप १० को सूचिमा चीनले २ स्थानमा कब्जा जमाएको छ । विश्वका महंगो ब्राण्डको पहिलो १० सूचिमा चीनले २ स्थानमा कब्जा जमाएको यो पहिलो घटना भएको सिएनएनले जनाएको छ । 

ब्राण्ड जेडले प्रत्येक वर्ष सार्वजनिक गर्ने यो सूचिमा चीनको इकमर्स कम्पनी अलिबाबा र सामाजिक सञ्जाल टेन्सेन्ट गुगल र एप्पलजस्ता कम्पनीलाई टक्कर दिंदै पर्न सफल भएका हुन् ।

ज्याक मा संस्थापक रहेका अलिबाबाले आफ्नो ब्राण्ड भ्यालूलाई करिब दोब्बर बनाई ११३ बिलियन डलरमा पुर्याएको छ । यो इकमर्स कम्पनीले मोवाइल पेमेन्ट्स र क्लाउड कम्पिटिंग जस्ता क्षेत्रमा विजिनेश बढाएपछि उसको भ्यालू बढेको बताइएको छ । 

प्रत्येक वर्षमा सार्वजनिक हुने विश्वका उत्कृष्ट १० ब्राण्डमा टेनसेन्टले सन् २०१७ देखि नै आफ्नो स्थान बनाउँदै आएको थियो । यो कम्पनीले प्रत्येक वर्ष आफ्नो ब्राण्ड भ्यालुलाई थप बलियो बनाउँदै लगेको देखिएको छ । टेन्सेन्टले फेसबुकलाई समेत उछिन्दै सन् २०१८ को यो सूचिमा आफूलाई ५ औं स्थानमा स्थापित गरेको छ । यो कम्पनीको ब्राण्ड भ्यालु १७९ बिलियन डलर पुगेको छ, जुन गत वर्षको तुलनामा ६५ प्रतिशतले बढी हो । 

टेन्सेन्ट अनलाइन गेम्स, एप्स, इन्सट्यान्ट म्यासेजिंग सेवा तथा अनलाइन पेमेन्ट्समा चीनमा चर्चित सञ्जाल हो । यो कम्पनीको बजार पूँजीकरण मात्रै ४९० बिलियन डलर रहेको छ, जुन अमेरिकाको सबैभन्दा ठूलो बैंक, जेपी मोर्गन चेज भन्दा पनि बढी हो । 

ब्राण्ड भ्यालूको यो नयाँ सूचिमा पहिलो स्थानमा गुगल परेको छ । यस्तै, दोश्रो, तेश्रो र चौथोमा क्रमशः एप्पल, अमेजन र माइक्रोसफ्ट रहेका छन् । यस्तै, छैठौमा फेसबुक, सातौमा भिजा, आठौमा म्याकडोनाल्ड्स, नवौमा अलीबाबा र दशौंमा एटी एण्ड टी परेका छन् । 

यो सूचिमा गत १२ वर्षदेखि गुगलले पहिलो स्थान बनाउँदै आएको छ । यो वर्ष गुगलको ब्राण्ड भ्यालु ३०२ अमेरिकी डलर रहेको छ, जुन गत वर्षको भन्दा २३ प्रतिशतले बढी हो ।