काठमाण्डौ । विश्वको सबैभन्दा सुपर फास्ट कम्प्युटरलाई कोरोना महामारीविरुद्ध चलिरहेको लडाइँमा प्रयोग गरिएको छ।

जापानको सुपर कम्प्युटर फुगाकुलाई गत सोमबार सबैभन्दा फास्ट कम्प्युटरको संज्ञा दिइएको थियो। यो कम्प्युटरले अमेरिकाको आईबीएम मेसिनको तुलनामा प्रतिसेकेन्ड २.८ गुणा धेरै क्यालकुलेसन गर्न सक्दछ। 

समिट नामक अमेरिकी सुपर कम्प्युटर उत्कृष्ट ५०० कम्प्युटरको सूचीमा यसअघि चारपटक शीर्ष स्थानमा रहेको थियो। तर अहिले यो सूचीमा फुकागुले आफ्नो स्थान सुरक्षित गरेपछि लामो समयसम्म चीन र अमेरीका चलिरहेको वर्चस्वलाई तोडेको छ। 

जापानले ११ वर्षको प्रतीक्षापछि शीर्ष स्थान ओगटेको हो। फुकागुलाई पहिलेदेखि नै कोरोनाविरुद्धको लडाइँमा प्रयोग गरिएको थियो। यो कम्प्युटरले हाँछ्यु गर्दा वा खोक्दा निस्कने कफको थोपाहरु कसरी ढोका या रेलहरुमा फैलन सक्छ भन्ने विषयमा अनुमान लगाइरहेको छ। 

अर्काे वर्ष जब यो कम्प्युटर पूर्ण रुपमा प्रयोगयोग्य हुनेछ तब विशेषज्ञहरुले यो कम्प्युटरलाई कोरोनाविरुद्धको प्रभावकारी उपचारको खोजमा प्रयोग गर्न सकिने विश्वास लिएका छन्। 

यो कम्प्युटरलाई बनाउन ६ वर्ष लागेको थियो। फुकागु नाम माउण्ट फुजी पर्वतबाट प्रेरित छ। – एजेन्सी