काठमाण्डौ । राष्ट्रपति भ्लादिमिर पुटिनजस्तै रुस पनि रहस्यले भरिएको देश हो । पुटिनले रुसबाट आउने हरेक सूचनामा नजर राख्छन्। यही कारण हो कि मस्कोका अधिकांश गतिविधि रहस्यमय छन्। 

उदाहरणका लागि पूर्वी रुसको साइबेरिया क्षेत्रमा एउटा ‘क्वारी टाउन’ छ। यस प्रकारको यो सहर विश्वकै एकमात्र हो। 

आर्कटिक सर्कलबाट करिब ४५० किलोमिटर टाढा रहेको यो सहरको नाम मिर्नी हो।

डेलिस्टारको रिपोर्टअनुसार यो सहर १७२२ फिटभन्दा गहिरो र ३९०० फिट ब्यास भएको खुलामुख भएको खाडलवरिपरि बसेको छ। यो खाडलभित्र रहस्यमय मात्रामा ठूलो परिमाणमा हीरा रहेको बताइएको छ। यो खाडलले आफूमाथि उड्ने जुनसुकै कुरा पनि तान्न सक्ने दाबी गरिएको छ । यो चिसो सहरको धेरै किलोमिटर टाढासम्म निर्जन क्षेत्र रहेको छ।

मिर्नी सहरमा बसोबास गर्ने अधिकांश जनसंख्या एउटै कम्पनी अल्रोसामा काम गर्छन्। यो आकारको हिसाबले विश्वको सबैभन्दा ठूलो हीरा खानी हो।

यो सहरको निर्माण खम्बामा गरिएको हो। वर्षको सात महिना त्यहाँको जमिन पर्माफ्रोस्टले ढाकिएको हुन्छ। गर्मी महिनाहरुमा पर्माफ्रोस्ट हिलोमा परिणत हुन्छ र स्तम्भहरुले मानिसको घरलाई पानी र हिलोबाट जोगाउँछन्। 

यो सहर १९५५ मा बसालिएको अनुमान गरिएको छ। जब सोभियत संघले दोस्रो विश्वयुद्धपछि पुनर्निर्माण गरिरहेको थियो।

रिपोर्टका अनुसार भूगर्भविद्को टोलीले हीराको आशमा देशमा अन्वेषण सुरु गरेको थियो। अन्ततः टोलीले ढुंगाका ससाना टुक्रामार्फत यस क्षेत्रमा हीरा रहेको फेला पार्यो। सन् १९५७ मा स्टालिनले मिर्नी हीरा खानी निर्माण गर्न आदेश दिए। तर सबैभन्दा ठूलो अवरोध खाल्डाखुल्डी भूभाग र मौसम बन्यो। मिर्नीको तापक्रम जाडोमा माइनस ४० डिग्री सेल्सियसमा झर्छ। त्यहाँ सवारीसाधनको टायर फुट्ने र तेल जम्ने गरेको तथ्यबाट चिसोको अनुमान लगाउन सकिन्छ।

खानी बनाउन जेट इन्जिन र डाइनामाइट प्रयोग गरिएको थियो। सन् १९६० सम्ममा खानी सञ्चालनमा आयो। त्यहाँबाट हीरा निक्लिन थाल्यो। सञ्चालनपछि पहिलो दशकमा खानीले प्रतिवर्ष १० करोड क्यारेट हीरा उत्पादन गर्यो। जसमध्ये २० प्रतिशत गुणस्तरको हीरा थियो। यो खानीबाट ३४२.५७ क्यारेटको फेन्सी लेमन पहेंलो हीरा फेला परेको थियो। जुन कुनै पनि देशमा पाइने सबैभन्दा ठूलो हीरा थियो। 

धेरै वर्षसम्म ठूलो मात्रामा हीरा उत्पादन गर्ने खानी सन् २००४ मा अचानक र आश्चर्यजनक रुपमा बन्द भयो।

बाढीका कारण अहिले त्यहाँ उत्खनन सम्भव नभएको अधिकारीहरुले बताएका छन्। मानिसहरुले यी दाबीहरुलाई विश्वास गरेनन् तर धेरै वर्षसम्म यो विशाल खाडल सुनसान र एक्लो रह्यो। माथिको हवाई क्षेत्र पनि बन्द थियो । खानीको गहिराइका कारण साना विमान र हेलिकप्टर भित्र तान्न सकिने क्षमता बताइएको छ । जब सतहबाट चिसो हावा खानीको भित्री भागबाट तातो हावा फाल्छ तब यसले एक शक्तिशाली बबन्डर सिर्जना गर्न सक्छ। जसले आकाशमा उडिरहेको जुनसुकै वस्तु तान्न सक्छ। 

यो खानीसन् २०९९ मा पुनः सञ्चालन आएको छ। अब ५० वर्ष सम्म सञ्चालन हुने अपेक्षा गरिएको छ। – एजेन्सी