काठमाण्डौ । महँगो हुँदै गएको पेट्रोल–डिजेलको मूल्य र बढ्दो कार्बन उत्सर्जनका कारण पछिल्लो केही समयदेखि विद्युतीय सवारीसाधनको मागमा वृद्धि भएको छ। 

विकसित देशमा मात्रै नभई विकाशील देशहरुमा समेत विद्युतीय सवारीसाधनको बजार तीव्रगतिमा फैलिरहेको छ। तथापि विद्युतीय सवारीको मार्गमा केही कठिनाइ छन्। यसमा सबैभन्दा ठूलो समस्या चार्जिङसँग जोडिएको छ। अन्य सामान्य कारका लागि दुर्गम ठाउँमा पनि पेट्रोल पम्पहरु उपलब्ध हुन्छन्। तर, विद्युतीय सवारीसाधनका लागि दुर्गम त टाढाको कुरा सहरी क्षेत्रमा समेत चार्जिङ पूर्वाधारको समस्या रहेको छ। 

यस्तै चार्ज गर्नका लागि ४–५ घन्टा आवश्यक पर्छ। फुलचार्ज भएपछि फेरि सीमित रेन्जको समस्या। निश्चित दूरी पार गरेपछि पुनः चार्ज गर्न घन्टाँै कुर्नुपर्ने हुन्छ। 

एउटा स्टार्टअप कम्पनीले भने यी सबै समस्याको समाधान लिएर आएको छ। कम्पनीले एउटा यस्तो कार तयार गरेको छ, जुन एकपटक फुलचार्ज भएपछि ७ महिनासम्म कुदाउन सकिन्छ। कम्पनीले यो कारलाई ‘लाइटएयर जिरो’ नाम दिएको छ।

सौर्य ऊर्जामार्फत कुद्न सक्षम भएकाले यो कारलाई विश्वको पहिलो सोलार कार भनिएको छ। दैनिक ३५ किलोमिटर यात्रा गर्दा घाम धेरै लाग्ने देशहरुमा यो कारलाई एकपटक चार्ज गरेपछि ७ महिनासम्म कुदाउन सकिने कम्पनीको दाबी छ। 

कम्पनीले न्युजिल्यान्डजस्तो कम घाम लाग्ने देशहरुमा यो कार एकपटक चार्ज गरेपछि दुई महिनासम्म कुद्ने जनाएको छ। तथापि यो कारलाई घाम लाग्ने खुला स्थानमा पार्क गर्नुपर्ने कम्पनीले जनाएको छ। 

कम्पनीले कारलाई सौर्य ऊर्जा प्राप्त गर्न लायक बनाउनका लागि कारको छतमा ५४ वर्गफुट डबल कभर्ड सोलार एरे जडान गरेको छ। यदि पर्याप्त सौर्य ऊर्जा प्राप्त हुने हो भने कार दैनिक ७० किलोमिटरसम्म कुद्न सक्ने कम्पनीले दाबी गरेको छ। 

एकपटक फुलचार्ज भएपछि केबल ब्याट्रीको भरमा मात्रै यो कार ६२५ किलोमिटरसम्म कुद्न सक्ने जनाइएको छ। हाइवेमा लाइटएयर जिराले ११० किलोमिटर प्रतिघन्टाको उच्चतम गति दिन सक्ने कम्पनीको दाबी छ। कम्पनीले यो कारको उत्पादन यसै वर्षदेखि सुरु गर्ने र यसको आपूर्ति सन् २०२२ नोभेम्बरदेखि गरिने जनाएको छ। 

लाइटएयर कम्पनीलाई सन् २०१६ मा ५ जना मिलेर नेदरल्यान्ड्समा स्थापना गरेका थिए। अहिले कम्पनी यति ठूलो भइसकेको छ कि यसमा ५०० जनाभन्दा बढी काम गरिरहेका छन्। कम्पनीले पहिलो लटमा ९४९ वटामात्रै कार निर्माण गर्ने जनाएको छ। लाइटएयरको यो कार फिनल्यान्डमा निर्माण हुनेछ र भलमेट अटोमोटिभ कम्पनीले उत्पादन गर्नेछ। 

कम्पनीले यो कारमा १.०५ किलोवाट आवर सोलार चार्जर दिइने जनाएको छ। जसले प्रत्येक दिन एक घन्टाको सोलार चार्जिङमा १० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ। त्यस्तै पूरा दिन चार्ज गर्दा ७० किलोमिटरसम्मको दूरी तय गर्नेछ। 

यो कारमा चारवटा मोटर दिइनेछ। जसले १७४ एचपी र १७२० एनएम टार्क जेनेरेट गर्नेछ। यस्तै कारले १० सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको रफ्तार पक्रिन सक्ने जनाइएको छ। –एजेन्सी