काठमाण्डौ । कुनै एक समय थियो, जुन बेला इञ्जिनियर र चार्टर्ड एकाउण्ट(सिए)को नोकरी गर्दा सबैभन्दा बढी तलब पाइन्थ्यो, उनीहरुको भाउ समेत समाजमा निकै थियो, इञ्जिनियर र सिएलाई छोरी दिन मानिस मरिहत्ते गर्थे । तर प्रविधिले यस्ता दिनहरुमा तीव्र परिवर्तन गरिदिएको छ । हिजोका सिए र इञ्जिनियरको ठाउँ आज डाटा साइनटिस्ट, सोल्युशन आर्किटेक्टले लिएका छन् । यो ट्रेण्ड विश्व बजारमा देखिएको हो । एक स्टाफिङ सोल्युसन कम्पनीको तथ्याङ्कका अनुसार टेक्नोलोजीको क्षेत्रमा कयौं यस्ता जागिर छन्, जसमा १ करोड २८ लाख रुपैयाँसम्म तलब हुन्छ । आउनुहोस्, त्यस्ता केही आकर्षक जागिरहरुको बिषयमा जानौं । 

डाटा साइनटिस्टको तलब १ करोड २० लाख रुपैयाँ

स्टाफिङ सोल्युसन कम्पनी  टिमलिजका अनुसार आइटीको क्षेत्रमा डाटा साइनटिस्टको नोकरीमा सबैभन्दा बढी पैसा पाइन्छ । ५ वर्षको अनुभव प्राप्त डाटा साइनटिस्टलाई करिब १ करोड २० लाख रुपैयाँसम्म तलब पाउन सक्छ । तर त्यही ठाउँमा ५ वर्ष अनुभव प्राप्त एउटा सिएलाई बार्षिक १३ देखि २४ लाख रुपैयाँसम्म मात्र तलब पाउँछ । यसैगरी, ५ वर्ष अनुभव भएको एक इञ्जिनियरको तलब बार्षिक ८ लाखदेखि १३ लाख रुपैयाँ मात्र हुन्छ । 

डिमाण्ड र सप्लाईमा धेरै अन्तर

डाटा साइनटिस्टको अहिलेको विश्व बजारमा उच्च माग छ । अहिले प्राय हरेक ठूला कम्पनीलाई आफ्नो व्यवसाय बढाउन र सोसल मिडियामामा आफ्नो पकड बनाइराख्नका लागि एक डाटा साइनटिस्ट चाहिन्छ । टिमलिजका अनुसार भारतजस्तो देशकै लागि पनि आगामी ३ वर्षभित्रमा २ लाख डाटा साइनटिस्टको आवश्यकता हुँदैछ । अरु त अरु अमेरिकामा पनि कुनै कम्पनीले १ सय डाटा साइनटिस्टका लागि आवेदन माग्दा मुश्किलले ४० जनाको मात्र आवेदन पर्छ । अमेरिकामा यो पदका लागि कम्पनीहरुले १.२५ लाखदेखि १.५० लाख डलरसम्मको अफर दिने गरेका छन् । अमेरिकामा डाटा साइनटिस्ट भनेजति संख्यामा नपाएपछि कयौं कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई सो सम्बन्धी तालिम दिएर आफ्नो गर्जो टार्ने गरेका छन् । 

सोल्युशन आर्किटेक्टले पाउँछ १ करोड २८ लाख रुपैयाँ तलब


सबैभन्दा बढी तलब पाउने मामलामा सोल्युशन आर्किटेक्टले डाटा साइनटिस्टलाई समेत पछाडि पारिदिएको छ । यो पदमा नोकरी गर्नेले वार्षिक १ करोड २८ लाखसम्म तलब पाउन सक्छ । सोल्युशन आर्किटेक्टले कुनै पनि व्यवसाय वा कारोबारको आवश्यकताको कोणबाट योजना बनाउँछन । कुनै पनि कम्पनीको कुनै मुख्य योजनालाई  सफल बनाउन यस्तो जनशक्तिको मुख्य भूमिका रहन्छ । यस्तो नोकरी पाउनका लागि तपाईसँग राम्रो कम्युनिकेशन स्कील र राम्रो रिपोर्ट बनाउनसक्ने क्षमता हुनुपर्छ । विश्वका जुनसुकै देशमा टेक्नोलोजीमा डिल गर्ने खालका करिब सबै कम्पनीमा सोल्युशन आर्किटेक्ट आवश्यक पर्छ । 

९६ लाख रुपैयाँसम्म कमाउँछन मोवाइल डेभलपर


अहिले विश्वमा मोवाइल सबै मानिसका लागि अत्यन्त जरुरी वस्तु भएको छ । मोवाइल बिना मानिस धेरै समय रहनै सक्दैनन् । यसकारण कयौं मोवाइल कम्पनीहरु पनि हरेक दिन नयाँ टेक्नोलोजी मोवाइल बजारमा लञ्च गरिरहेका हुन्छन् । यही कारण मोवाइल डेभलपरहरुको माग बढिरहेको छ । एक ४ देखि ५ वर्षसम्मको अनुभवी मोवाइल डेभलपरले वार्षिक ९६ लाख रुपैयाँसम्म तलब पाउँछ । एक तथ्याङ्क अनुसार विश्व बजारमा पछिल्लो तीन वर्षको अवधिमा एन्ड्रोइड मोवाइल डेभलपरको माग ५४ प्रतिशतबाट बढेर ११० प्रतिशतसम्म पुगेको छ । 

प्रोडक्ट मेनेजर तथा डाटा एनालिटिक्स मेनेजर


कमाईको हिसाबले प्रोडक्ट मेनेजर र डाटा एनालिटिक्स मेनेजरले बिस्तारै सिए र इञ्जिनियरहरुलाई समेत टक्कर दिन थालेका छन् । एक ४ देखि ५ वर्षको अनुभवी प्रोडक्ट मेनेजरको तलब वार्षिक २४ लाखदेखि ६४ लाख रुपैयाँसम्म हुन थालेको छ । यस्तै ५ वर्षको अनुभव प्राप्त डाटा एनालिटिक्स मेनेजरको तलब बार्षिक ६४ लाखदेखि ९६ लाख रुपैयाँसम्म हुन्छ । डाटा एनालिटिक्सको जिम्मेवारी अनुसार उसले कम्पनीसँग सम्बन्धित सबै डाटाहरुको बिषयमा जानकारी राख्नु हुन्छ । साथै, उसले सही तरिका अपनाएर कम्पनीको बिजिनेश बढाउने जिम्मेवारी पनि पाएको हुन्छ ।