काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा फेरिक कोरोनाको सुनामी आउन सक्ने चेतावनी दिएको छ।

कोरोनाको नयाँ सबभेरिएन्ट एक्सबीबी.१.५अहिले विश्वका २९ देशमा फैलिसकेको छ। डब्ल्यूएचओले कोरोनाको यो सबभेरिएन्टलाई ‘क्राकेन वा समुद्री राक्षस भेरिएन्ट’ संज्ञा दिएको छ। यो अहिलेसम्मकै सबैभन्दा छिटो फैलिने सब–भेरिएन्ट रहेको डब्ल्यूएचओले चेतावनी दिएको छ। 

डब्ल्यूएचओले यसको विकास र द्रुत प्रसारप्रति चिन्ता बढाएको जनाएको छ। आगामी दिनमा विश्वमा फेरि कोरोनाको सुनामी आउन सक्ने आशंका डब्ल्यूएचओले गरेको छ। 

कोरोनाको पछिल्लो सबभेरिएन्ट पनि ओमिक्रोनबाट आएको हो। जसलाई आधिकारिक रुपमा एक्सबीबी.१.५ भनिन्छ। यो सबभेरियन्टले अमेरिकाभरि कहर मचाउन थालिसकेको छ। अमेरिकामा कुल नयाँ संक्रमितमध्ये ७० प्रतिशतमा यो भेरिएन्टले आक्रमण गरेको देखिएको छ। 

यो सबभेरिएन्टबाट हरेक १० जनामध्ये ४ जना संक्रमित भइरहेको डब्ल्यूएचओले जनाएको छ। यो भाइरस अहिले बेलायतमा पनि तीव्रगतिमा फैलिरहेको छ । यद्यपि, विज्ञहरु यो नयाँ सबभेरिउन्ट पनि यसको पूर्ववर्ती ओमिक्रोन र अन्य भेरियन्टभन्दा हल्का छ।

डब्ल्यूएचओको कोरोना मामिलामा प्राविधिक प्रमुख डा. मारिया भान केरखोभले भनिन्, ‘हामी विशेषगरी अमेरिका र युरोपमा यसको द्रुत फैलावटबाट चिन्तित छौँ। यसमा पनि अमेरिकाको उत्तरपूर्वी क्षेत्रको सन्दर्भमा जहाँ यो सबभेरिएन्ट द्रुत गतिमा अन्य भेरियन्टलाई पछाडि छोड्दैछ। हाम्रो चिन्ता यो कति संक्रमण फैलन सक्छ भन्ने हो।’

अमेरिकाको सीडीसीको तथ्यांकले अमेरिकामा ४१ प्रतिशत केस यस स्ट्रेनका कारण रिपोर्ट भएको देखाएको छ। विज्ञहरू यो सबभेरिएन्टको द्रुत फैलावट उत्परिवर्तनको कारण हुन सक्ने बताउँछन्। जसका कारण यसले मानिसलाई अझ छिटो संक्रमित गर्न मद्दत गर्ने उनीहरुको निष्कर्ष छ। 

बेलायतका भाइरोलोजिस्ट प्रोफेसर लरेन्स योङले यो सबभेरिएन्ट निकै संक्रामक भएको र यसका कारण न्युयोर्कका अस्पतालहरुमा भीड बढ्दै गएको बताए । ‘यसबाट विशेषगरी वृद्धवृद्धालाई बढी संक्रमित भइरहेका छन्’, उनले भने, ‘अमेरिकामा अत्याधिक चिसो र मास्क नलगाउनका कारण कोरोना संक्रमितको संख्या बढ्दै गएको हो।’ एजेन्सी