काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना अझै घातक भएर फैलिन सक्ने चेतावनी दिएको छ। 

डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम घेब्रेयससले कोरोना संक्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका हुन्। डब्लूएचओको आपत्कालीन समितिको बैठकमा महानिर्देशक डा टेड्रोसले कोरोनाको नयाँ भेरियन्ट डेल्टा घातक हुने चेतावनी दिए। 

डा टड्रोसले डेल्टा भेरियन्ट कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौतीपूर्ण हुन सक्ने पनि बताए। ‘कोरोना महामारी समाप्त हुँदैछ भनेर गलत धारणा फैलाइरहेको छ’, उनले भने, ‘डेल्टा भेरियन्ट फैलिरहेको बेला सामाजिक गतिविधि बढेसँगै जनस्वास्थ्यका मापदण्ड पालना नभइरहेको पाइएको छ। यसले महामारी नियन्त्रणमा चुनौती थपिएको छ।’

हाल डेल्टा भेरियन्ट विश्व १११ भन्दा बढी राष्ट्रमा पुगिसकेको डब्ल्यूएचओले जनाएको छ। – एजेन्सी